Latest News

युवकलाई ‘फेसबुके माया’मा फसाएर २६ लाख झ्वाम पार्ने युवती प्रहरी खोरमा

Nepalese Times July 10, 2022 (1 Year ago)    500 Views

काठमाडौं ।

नारायणगढका एक अधवैशे पुरूषलाई फेसबुकमा सुन्दर प्रोफाइल फोटो भएकी युवतीको ‘फ्रेण्ड रिक्वेस्ट’ आउँछ। ती पुरूष झट्टै युवतीको रिक्वेस्ट स्वीकार्छन्।

लगत्तै उनीहरूका बीचमा फेसबुक म्यासेन्जरमा कुराकानी सुरू हुन्छ। युवतीको सुन्दर फोटोले लोभिएका पुरूष च्याटमा मोहित हुन्छन्। युवतीसँगको गफमा उनी यति विश्वास गर्छन् कि उनी आफ्नो परिवारलाई नै भुल्न पुग्छन्।

उनीहरूबीचमा अन्तरंग गफ हुन थाल्छ। पुरूषको आग्रहमा युवतीले नग्न तस्वीरसमेत फेसबुक म्यासेन्जरमा पठाउँछिन्। बिस्तारै युवती आफ्ना घरायसी समस्या पुरूषलाई सुनाउन थाल्छिन्। युवतीको समस्या समाधान गर्न ती पुरूष लाखौं रुपैयाँ दिन तयार हुन्छन्।

एक पटक पनि भेट नभएकी युवतीलाई लाखौं रुपैयाँ पठाइदिन्छन्। उनीहरूबीचको सम्बन्ध थप नजिकिन्छ। कफी सपमा उनीहरूको भेट पनि हुन्छ। युवतीका समस्या दिनप्रतिदिन बढ्दै जान्छन्। उनी विभिन्न समस्या देखाउँदै आफू र आफन्तका नाममा पैसा पठाइदिन आग्रह गर्छिन्। पुरूष युवतीले भनेअनुसार गर्न कत्ति पनि हिचकिच्याउँदैनन्।

उनै पुरूषलाई अर्की युवतीको पनि फ्रेण्ड रिक्वेस्ट आउँछ। सुन्दर प्रोफाइल फोटो भएकी ती युवतीको साथी बन्ने प्रस्तावलाई पनि लत्याउन सक्दैनन् ती पुरूष।

अघिल्लो युवतीसँगजस्तै निकट सम्बन्ध बन्छ। बिस्तारै ती युवती आफ्ना समस्या सुनाउन थाल्छिन्। पुरूष उनको समस्या पनि समाधान गर्न प्रयास गर्छन्। त्यसका लागि उनी लाखौं रुपैयाँ पैसा पठाउँछन्।

लाखौं रकम प्राप्त गरेपछि युवतीहरू ती पुरूषसँगको कुराकानी घटाउन थाल्छन्। बिस्तारै उनीहरू हराउँछन्। त्यतिखेरसम्म उनले २६ लाख ४५ हजार ७०० रुपैयाँ यी दुई युवतीलाई पठाइसकेका हुन्छन्। उनीहरू सम्पर्कविहीन भएपछि भने ती पुरूषलाई झट्का लाग्छ।

यही घटनामा संलग्न रहेको आधारमा प्रहरीले नवलपुरको गैंडाकोट–११ की २६ वर्षीया एक युवतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

‘युवतीहरूले ठगेकाले कानुनबमोजिम कारबाही गरी ठगिएको रकम असुल गरिपाऊँ भनेर भरतपुर–१ नारायणगढका ५३ वर्षीय पुरूषले जाहेरी दिएपछि हामीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भने, ‘पुरूषसँग दुइटा फेसबुक प्रयोग गरेर पैसा माग्ने युवती उनै रहेको देखिन्छ।’

अधिकारीले एउटै युवतीले धेरै पैसा लिनका लागि फरक फेसबुक आइडी बनाएको अनुसन्धानबाट देखिएको बताए। चितवन प्रहरीका प्रमुख एसपी नवराज अधिकारीले सामाजिक सञ्जालमार्फत् अपराधिक गतिविधि बढिरहेकोले सचेत बन्नुपर्ने अवस्था आएको बताए।

‘सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने गिरोह नै सक्रिय भएको पनि हुनसक्छ, त्यस्ता मान्छेले पैसा धेरै भएको मान्छे खोज्दै सामाजिक सञ्जालमा पच्छ्याइरहेका हुनसक्छन्,’ अधिकारीले भने,‘सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस