Latest News

मन्त्री मेटमणी चौधरीलाई ‘आउट’ गराएर माधव नेपालले आफ्नै सम्धीलाई गराए ‘ईन्ट्री’

Nepalese Times July 9, 2022 (1 Year ago)    542 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेका छन् । पाण्डे अध्क्ष नेपालका सम्धी हुन् ।

शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरिएको छ । प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् भने रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् ।

उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएकाले उनको ठाउँमा श्रीराम यादवलाई ल्याइएको हो ।

अर्का उपाध्यक्षमा चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन भएका छन् ।

रुपन्देही जिल्लाको नेतृत्व हेरफेरसम्बन्धी जिल्ला समितिले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेको प्रदेश सचिव राजु गुरुङले बताए । वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ ।

वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिएका सचिव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस