Latest News

चौतर्फी आलोचना भएपछि बालेन शाहले घुमाए दिमाग, लगाए यस्तो जुक्ति

Nepalese Times July 9, 2022 (1 Year ago)    393 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने घोषणा गरेका छन् ।

उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु, तपाईँहरूको दिन शुभ रहोस् ।’

यमबुद्धको सालिक कुन स्थानमा निर्माण गर्ने भन्ने अझै तय भइसकेको छैन । नेपाली र्‍याप गीतमा खुबै चर्चा कमाएका यमबुद्ध पत्नीसहित लण्डनमा बस्दै आएका थिए । वि.सं. २०७३ साल माघमा उनी लण्डनको साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यसअघि काठमाडौं महानगरपालिकाले र्‍यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भनिएको थियो । महानगरपालिकाले संशोधनसहित  पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो ।

महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्‍याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको भनिएको थियो ।

काठमाडौं महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७९/ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्टाएको छ । गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात शुक्रबार सर्वसम्मत पास भएको हो ।

यसअघि उनले यम बुद्धको सालिक बनाउने घोषणा गरेसँगै चौतर्फी आलोचना भएको थियो । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय नेता नरेश रेग्मीले यम बुद्धको शालिक बनाउने काठमाडौं महानगरका मेयर बालेन शाहको निर्णयलाई विरोध गरेका छन् ।

सामाजिक संजालमार्फत उनले यमबुद्धको नाममा शालिक होइन बरु मनोचिकित्सा केन्द्र खोल्दा राम्रो हुन्छ हुने सुझाव समेत दिएका छन् । यमबुद्धको नाममा मनोचिकित्सा केन्द्र खोल्दा त्यहाँबाट युवाहरुले आत्महत्याको विरुद्धमा लड्न मनोवैज्ञानिक परामर्श पाउने रेग्मीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस