Latest News

बुढीगंगाको मत परिणामबारे एमाले नेता कर्ण थापाले दिए यस्तो प्रतिक्रिया

Nepalese Times July 9, 2022 (1 Year ago)    803 Views

काठमाडौं ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणामले उत्साहित भएका छन् ।

उनले बसढीगंगामा भएको स्थानीय चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह एकसाथ हारिरहेका टिप्पणी गरेका छन् ।

वैशाख ३० गतेको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भएपछि चुनाव स्थगित गरिएको थियो । स्थगित चुनाव असार २३ गते सम्पन्न भएको छ ।

चुनावको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले विजयउन्मुख देखिएसँगै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीका दाइ रंगबहादुर खाती बुढीगंगामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार छन् । दाइलाई चुनाव जिताउन महान्यायाधिवक्ताले पदीय दुरुपयोग गरेको आरोप छ ।

बुढीगंगा एमाले नेता थापाको गृहनगर हो । गृहनगरमा एमालेले चुनाव जित्ने देखेपछि थापाले फेसबूकमा लेखेका छन्, ‘वैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खाती मात्रै हार्ने थिए । असार २३ गतेको निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिपक कार्की एकसाथ हार्दैछन् ।’

उनले लेखेका छन्, ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शिर निहुर्‍याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु । विजयी सबैलाई बधाई १ विजयी बन्दै गरेका सबैलाई शुभकामना ।’

प्रतिक्रिया दिनुहोस