Latest News

महानगरको न्यायिक समिति गठन, सुनिता डंगोलले पाइन् महत्वपूर्ण जिम्मेवारी

Nepalese Times July 8, 2022 (1 Year ago)    333 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएको छ । महानगरकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा तीन सदस्यीय समिति निर्विरोध चयन भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुन्छ । महानगरपालिकाका नगरसभा सदस्य कुश ढकाल र आशा श्रेष्ठ रौनियार न्यायिक समिति सदस्य निर्वाचित भएका हुन् । उनीहरुलाई महानगरका मेयर बालेन्द्र साह(बालेन) ले सपथ ग्रहण गराएका थिए ।

त्यस्तै, महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो ।

१० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ ।

वडाबाट छलफलविना बजेट पारेको भन्दै नगरसभा सदस्यहरुले मेयर बालेन्द्र साहको ध्यानाकर्षण गराएका थिए । यस्तै बजेटमा दलित शब्द नपरेको भन्दै केही नगरसभा सदस्यहरुले आपत्ति जनाएका थिए ।

तीन वटा वडाका लागि एकजना मात्रै इन्जिनियर खटाएको प्रति असन्तुष्ट व्यक्त गर्दै नगरसभा सदस्यहरुले प्राविधिक जनशक्ति आवश्यक रहेको बताएका थिए ।

मेयर साहले दलित शब्द राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । बजेट र कार्यक्रम नपरेको भए १२ वटा विषगयत समितिका संयोजकलाई जानकारी दिन साहले आग्रह गरेका थिए ।

विनियोजन विधेयक पनि सर्वसम्मत पारित भएको छ । १७ असारमा महानगरले आर्थिक विधेयक सर्वसम्मत पारित गरेको थियो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरुमा छलफल भएको थियो ।

छलफलमा उठेका प्रस्तावहरुसंशोधन सहित समावेश गर्ने प्रतिबद्धता मेयर साहले व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस