Latest News

सीसीटीभी फुटेज डिलिट भएको चिठी लेख्न लगाएर बिदा बसे अर्थसचिव

Nepalese Times July 6, 2022 (1 Year ago)    450 Views

काठमाडौँ – अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ ।

जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ । अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सीसीटीभी फुटेज हेर्न पाउनु पर्ने आवाज उठेपछि मन्त्रालयले १३ दिनेसम्मको मात्रै फुटेज स्टोरेज हुने जबाफ पठाएको थियो । जुन आफैमा शंकास्पद देखिएको छ ।

स्वार्थ समूहको चंगोलमा परी अर्थसचिव मरासिनी मन्त्रालयकै बद्नाम गराउन हात धोएर लागि परेको देखिन्छ । संसदमा अर्थमन्त्रीमाथि यस विषयमा कुरा उठाइएको छ । तर बदमासी कर्मचारका तर्फबाट भएको देखिन्छ । मन्त्रालयको नेतृत्व कर्ता भएका कारण मन्त्रीले पनि जबाफ दिनु पर्ने त होला तर सबै कर्मचारीले गरेका गल्तीको जबाफ मन्त्रीले दिन सक्छन् होला र ?

कर्मचारीको बदमासिले अर्थमन्त्री जनार्दन शर्मालाई निकै समस्या परेको देखिएको छ । सीसीटिभी फुटेज डिलिट भएको विषयमा अर्थसचिव मधुकुमार मरासिनीको बदमासी देखिएको अर्थमन्त्राल एक अधिकारी बताए ।

फुटेज डिलिट भएको भनेर अर्थ सचिव मधुकुमार मरासिनी आफैले चिठी लेख्न लगाएका थिए । आफू विवादमा पर्ने भएपछि अर्थ सचिव अहिले बिदामा बसेका छन् । ‘फुटेज डिलिट पनि सचिवले नै गर्नु भएको हुनसक्छ’ मन्त्रालयका अधिकारीले भने,’ आफ्नो गल्ती लुकाउन सचिव बिदामा बस्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस