Latest News

चौतर्फी विवादपछि अर्थमन्त्री शर्माले दिने भए राजीनामा, को बन्दै छन् नयाँ अर्थमन्त्री ?

Nepalese Times July 6, 2022 (1 Year ago)    515 Views

काठमाडौं । सिसिटिभी फुटेज प्रकरणले विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः राजीनामा दिने तयारी गरेका छन् । उनले आज बेलुकासम्ममा राजीनामा पत्र बुझाउने तयरी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै पदमुक्त गर्ने तयारी गरेपछि अर्थमन्त्री शर्माले आफैं राजीनामा दिन लागेको हुन् । बजेटमा करका दर हेरफेर गर्न व्यापारिक घरानाका कर्मचारीलाई जिम्मेवारी दिएपछि आलोचित हुँदै आएका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका थिए ।

उनले राजीनामा दिने भएसँगै अब माओवादी केन्द्रबाट नै अर्को अर्थमन्त्रीको खोजी भइरहेको माओवादी केन्द्रका एक नेताले बताए । सम्भवतः कृष्णबहादुर महरा या वर्षमान पुनलाई अर्थमन्त्री बनाउनेबारे छलफल भइरहेको उनले बताए ।

जेठ १५ गते बिहान अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएका शर्माले त्यस बेलाको सिसिटिभी माग्दा दिएको जवाफले उनलाई पदमुक्त गर्न थप दबाब सिर्जना भएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेपछि अर्थ मन्त्रालयले शर्माको निर्देशनमा आइतबार ‘डिलिट भइसकेको’ गैरजिम्मेवार जवाफ दिएको थियो ।

अर्थमन्त्री शर्मालाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल एमालेदेखि सरकारको नेतृत्व गरेको कांग्रेसभित्रैबाट प्रधानमन्त्रीमाथि दबाब परेको छ। गठबन्धनभित्र पनि कुरा उठे पनि प्रधानमन्त्री देउवा र प्रचण्डकै स्वार्थका कारण सामसुम पारिँदै आएको थियो।

घटनाको संसदीय छानबिन गर्न माग गर्दै विपक्षी एमालेले शर्माको राजीनामा माग्दै आएको छ। सोमबार विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा समय लिएर प्रधानमन्त्री देउवामाथि प्रश्न गरेका थिए।

ओलीले प्रधानमन्त्री देउवालाई केही गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै शर्मालाई पदमुक्त गर्न दबाब दिएका छन्।

कांग्रेसभित्र घटना सार्वजनिक भएदेखि नै शर्मालाई पदमुक्त गर्नुपर्ने आवाज उठे पनि माओवादी चिढिने डरले देउवा मौन बस्दै आएका छन्। तर, आइतबारको घटनापछि कांग्रेसले सार्वजनिक रूपमै देउवामाथि दबाब बढाएका छन्।

महामन्त्री गगन थापाले शर्माले तत्काल राजीनामा दिनुपर्ने यदि नदिएमा प्रधानमन्त्रीले नै एक्सन लिनुपर्ने सुझाव दिएका छन्।

एकातिर अनधिकृत रूपमा करका दर हेरफेर गर्नु, अर्कोतिर कानुनविपरीत फुटेज डिलिट गर्नु सामान्य विषय नभएकाले प्रधानमन्त्री गम्भीर हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस