Latest News

देउवाकै अघि गठबन्धनबारे काँग्रेस उपसभापति धनराज गुरुङले गरे कडा टिप्पणी

Nepalese Times July 5, 2022 (1 Year ago)    361 Views

काठमाडौं ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताएका हुन् ।

आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने गुरुङको भनाइ छ । उनले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकाशमा छ ।

तर ल्यान्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्यान्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ ।’

जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उल्लेख गरे । ‘हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ । १० हजार, साढे १० हजार फिट माथि उडिरहेको छ, अहिले जहाज ,’ उनी भन्छन् ।

उपसभापति गुरुङले गठबन्धनकै दलहरुले काँग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए । उनले भने, अ’ब त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेलामा कसैले काँग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा शुरु गर्ने हो भने जहाजले सेफ ल्यान्डिङ गर्न सक्दैन । हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो ।’

उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एक-अर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताए ।

​​’हामीले जहाज ल्यान्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्ने कुरा हामी आफैँले प्रमाणित हुन्छ,’ गुरुङले भने, ‘हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्यान्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेकाे पुष्टि हुने दाबी गरे ।

उनले सधैँ देश गरिब बनाएर काम गर्नु नहुने भन्दै सरकार सञ्चालन कर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुन दृष्टि राख्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस