Latest News

अब चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा अर्को ठाउँबाट पनि दिन सकिने, तोकियो स्थान

Nepalese Times July 5, 2022 (1 Year ago)    541 Views

काठमाडौं ।

चितवनमा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र लाइसेन्स अब चितवनबाटै लिन सकिने छ । कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनले बताएका छन् ।

प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाइमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् ।

यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ । त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ ।

उनले भने, “यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।” अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए ।

प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताएका छन् ।

चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उहाँले जानकारी दिनुभयो । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ ।

उनको भनाइमा हेटौंडामा जाने ७० प्रतिशत चितवनका हुन् । कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौंडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरुले परीक्षा दिँदै आएका छन् । उनका अनुसार हेटौंडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस