Latest News

प्रमुख निर्वाचन आयुक्त थपलिया अहिले राती ओली निवासमा प्रवेश

Nepalese Times July 4, 2022 (1 Year ago)    385 Views

काठमाडौं ।

सँधै राजनीतिक नेता तथा कार्यकर्ताको भीड लाग्ने एमाले अध्यक्ष केपी ओलीको निवास सूर्यविनायक नगरपालिकाअन्तर्गत बालकोटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया अहिले भर्खर प्रवेश गरेका छन् ।

उनीहरुबीच आगामी सँसदीय निर्वाचन कार्तिक ३० मै सम्पन्न गर्ने आयोगको तयारी र स्थानीय चुनावले देखाएको भोटिङ्ग ट्रेन्डवारे कुराकानी भइरहेको बताइएको छ । उनी अध्यक्ष ओलीको निवासमा बा.२ झ ३२३१ नम्बरको गाडी चढेर पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेपछि आयोगले चुनावको नयाँ मिति प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री देउवासँग शुक्रबार भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भेटमा देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेको थियो ।

कात्तिक ३० गते एकै चरणमा निर्वाचन गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन् ।

कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उपयुक्त हुने आयोगको प्रस्ताव रहेको थपलियाले भनेका छन् । तर, प्रधानमन्त्री देउवाले भने कात्तिक २७ वा मंसिर ४ गते निर्वाचन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेको जनाएका छन् ।

आयोगले एकै चरणमा गर्दा बढ्दो महंगीसहितका कारण २०७४ को भन्दा २ देखि ३ अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरेको छ । २०७४ मंसिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो ।

आयोग पदाधिकारीहरूको केही दिनअघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्च, मितिसहितको प्रस्ताव तयार पारेको छ ।

निर्वाचन प्रस्तावलाई अन्तिम रूप दिँदै सरकारसँग बजेटसहितका अन्य सहयोग माग गर्ने तयारी उनीहरूले थालेका हुन् । आयोगले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारमाथि निरन्तर दबाब खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस