Latest News

६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि सरकारले छुट्यायो १० अर्ब, अरु कुन क्षेत्रमा कति ?

Nepalese Times May 29, 2022 (1 Year ago)    612 Views

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९– ८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको बताए । सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७९–२०८७ कार्यान्वयन गरिने र पुराना, जीर्ण अवस्थामा रहेका स्वास्थ्य पूर्वाधारलाई नयाँ मापदण्डअनुसार निर्माण गर्नका लागि बजेट व्यवस्था गरिएको उल्लेख छ ।

पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व, शिशु स्याहार, पोषण कार्यक्रम, खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री शर्माले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा उपलब्ध गराई मातृ मृत्युदर घटाई आमा सुरक्षा कार्यक्रमको रकम वृद्धि गरिएको बताए ।

यस्तै सरकारले सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९र८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुनसकेको छैन ।

हेडवक्र्सको काम नसकिँदा वर्षायामसँगै आउने बाढीले गर्न सक्ने क्षतिका कारण पानी बन्द हुने गरेको छ । गत वर्ष मेलम्ची आएको बाढीले मुहान क्षेत्रमा पुगेको क्षति पुनःनिर्माण गरी यस वर्ष चैत अन्तिम साता फेरि मेलम्चीको पानी सुन्दरीजल ल्याई राजधानीवासीका धारामा वितरण सुरु भएको छ । यस वर्ष पनि वर्षा लागेसँगै सुरुङमा पानी बन्द गर्ने योजना खानेपानी मन्त्रालयले बनाएको छ । हाल मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानीमा वितरण भइरहेको छ ।

आगामी वर्षमा याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउन आवश्यक अध्ययन पूरा गरिने लक्ष्य पनि बजेटमा लिइएको छ । याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी आउनेछ । याङ्ग्री र लार्केबाट पनि दैनिक १७–१७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ ।

काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि राजधानी वरिपरिका स्रोतको अध्ययन भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यी स्रोतबाट पनि केही अभाव पूर्ति गर्न सकिने जनाइएको छ ।

यस्तै सरकारले आर्थिक वर्ष २०७५७६ बाट ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत लक्षित काम हुन नसकेको र यस कार्यक्रमको बजेट दुरुपयोग गरिएको भन्दै विगतदेखि चर्को आलोचना हुँदै आएको यस कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास आगामी आवको बजेटले गरेको छ ।

उक्त कार्यक्रमको ढाँचा परिवर्तन गरी अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा यो विषय उल्लेख गर्नुभएको छ । अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको परिमार्जित कार्यक्रमको बजेटबाट कृषि क्षेत्रमा रोजगारी प्रदान गरिने प्रस्ताव गरिएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । खासगरी बेरोजगार व्यक्तिलाई रोजगारी दिने उद्देश्यका साथ उक्त कार्यक्रम ल्याइएको भए पनि त्यसमार्फत प्रभावकारी काम हुन नसकेको, पूर्ण बेरोजगार व्यक्तिमा लक्षित कार्यक्रम पुग्न नसकेको भन्दै व्यापक आलोचना भएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत भए गरिएका कामहरूमा पनि झार उखाल्ने, गोरु धपाउने, बाटो सरसफाइ गर्नेजस्ता सामान्य प्रकृतिका हल्काफुल्का कार्यक्रमका तस्वीर राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशन गरी आम सञ्चारमाध्यमले पनि उक्त कार्यक्रमप्रति प्रश्न गर्ने गरेका थिए । साथै वर्तमान सत्तारुढ दलका नेताहरूले समेत सो कार्यक्रमको आलोचना गरी यसलाई सिर्जनात्मक र कामयवी बनाउन सरकारलाई सार्वजनिक कार्यक्रममार्फत दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस