Latest News

अब ६५ वर्षमै वृद्धभत्ता

Nepalese Times May 29, 2022 (1 Year ago)    1148 Views

आज दिउँसो ४ बजेट बजेट भाषण हुँदै छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाका अनुसार ४ बजेट बजेट भाषण हुने र त्योभन्दा १५ मिनेटअघि सांसदहरु संसद भवन छिरिसक्नुपर्नेछ।

यही वर्ष संघ र प्रदेशको निर्वाचन समेत रहेकोले त्यसलाई समेत केन्द्रित रहेर बजेट कार्यक्रम तयार गरेको अर्थ मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई बताएका छन्।

अर्थ मन्त्रालयले तयार गरेको बजेट वितरणमुखी हुने देखिएको छ। यसमा केही लोकप्रिय निर्णय गर्दै कार्यक्रम छरेर बजेट विनियोजन हुने देखिएको छ। विशेषगरी आगामी आर्थिक वर्षको बजेटले सामाजिक सुरक्षा भत्तामा विशेष निर्णय गर्ने भएको छ।

सामाजिक सुरक्षाअन्तर्गतको वृद्धभत्ता अहिले ७० वर्ष पुगेकालाई ४ हजार रुपैयाँ वितरण गर्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै ६५ वर्ष उमेरभन्दा माथिका वृद्धवृद्धालाई भत्ता दिने घोषणा नै गरेकोले प्रधानमन्त्रीको इच्छा पूरा गराउने निर्णय जनार्दन शर्माले बजेटमार्फत गर्न लागेका हुन्।

त्यस्तै पछिल्लो समेत उत्पादनमूलक अर्थतन्त्रको विषयमा बहस भइरहेकोले त्यसलाई समेत सम्बोधन गरी उत्पादन र उपभोग दशक मनाउने गरी सरकारले बजेट कार्यक्रम तयार गरेको छ।

उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।

यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेस प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।

बजेट संसद्मा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस