Latest News

आज ४ बजे सरकारले बजेट सार्वजनिक गर्ने, यस्तो छ तयारी

Nepalese Times May 29, 2022 (1 Year ago)    958 Views

काठमाडौं । आज आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्नेछन् ।

संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।

बजेटमार्फत आयकरको विद्यमान सीमा बढाउने तथा कर्मचारीको तलब बढाउने तयारी पनि भएको अर्थ मन्त्रालयले जनाएको छ । नयाँ बजेटको कार्यान्वयनमार्फत ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ ।

बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरू उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु ।’

उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।

यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेस प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।

बजेट संसद्मा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ ।

शनिवारको प्रतिनिधिसभा बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस