Latest News

बाबुराम भट्टराईले गरे एमालेको सूर्यमा मतदान, यस्तो प्रमाण सार्वजनिक भएपछि खैलाबैला

Nepalese Times May 13, 2022 (2 Year ago)    1340 Views

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सूर्यमा मतदान गरेका छन् ।

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सूर्य चिह्नमा मतदान गरेका हुन् । बाबुरामको गृहनगर पालुङटारमा एमाले–जसपा तालमेल भएको थियो ।

भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ मा रहेको अन्नपूर्ण मावि भवन मतदान स्थलबाट एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेका हुन्। पालुङटारमा जसपाले नगर प्रमुख र एमालेले नगर उपप्रमुखका लागि आ–आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।

यस्तै निर्वाचन आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष  भट्टराईलाई मतपत्र सार्वजनिक गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सामाजिक सञ्जालमा भट्टराईले स्वस्तिक छाप देखिने गरी मतपत्र सेयर गरेको विषयमा आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो । आयोगले भट्टराईलाई पठाएको स्पष्टीकरण पत्रमा गोप्य कक्षमा कुनै सहयोगी तथा मोबाइल वा क्यामरा लैजान नमिल्ने पनि स्मरण गराइएको छ ।

पत्रमा थप भनिएको छ, ‘तपाइलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? देशको पूर्व प्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको हो ?’

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ मा ‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यस भन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने उल्लेख छ । सोही दफाको उपदफा २ मा उपदफा १ विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको चुनाव चिह्न रुखलाई मतदान गरेका छन् । प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा पर्ने शान्तिपुरको पुलिस स्कुल भवन मतदानस्थलबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारलाई मत दिएका हुन्।

भरतपुरमा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेका कारण प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखमा मत हाल्नु परेको हो। गठबन्धनको सहमति अनुसार भरतपुर(१४ मा कांग्रेसबाट वडाअध्यक्ष उठेका छन्।

प्रतिक्रिया दिनुहोस