Latest News

आज कुन–कुन ठाउँमा मतदान स्थगित भयो ? यसो भन्छ निर्वाचन आयोग

Nepalese Times May 13, 2022 (2 Year ago)    745 Views

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ ।

“दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने । शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् ।

यस्तै मनाङका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिने काम भइरहेको बताए । जिल्लाका २८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए ।

सदरमुकाम चामे गाउँपालिकामा ५७७, मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ५७४, नार्पाभूमि गाउँपालिकामा २८५ र नासों गाउँपालिकामा एक हजार ४३७ गरी तीन हजार ८७३ मत खसेको शर्माले बताए ।

निर्वाचनबाट मनाङमा १४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । केही पालिकाका वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसमेत सर्वसम्मत निर्वाचित भइसकेका छन् । चार गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी आठ जना निर्वाचित हुनेछन् ।

त्यस्तै २८ वडाबाट एक÷एक अध्यक्ष र चार सदस्य गरी १४० जना निर्वाचित हुनेछन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालका अनुसार जिल्लामा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको हो । “शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ, १ बजेसम्म तीन हजार ८७३ मत खस्यो,” उनले भने ।

जिल्लाका चार वटै पालिकामा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका मतगणना आजै साँझदेखि मतगणना हुनेछ ।

मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै गतगणना सुरु हुने शर्माले बताए ।

मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँच-पाँचवटा मतदान केन्द्र कायम छ । मनाङमा महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ गरी ६ हजार ४९६ मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस