Latest News

एमाले महानगर उपप्रमुख उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज

Nepalese Times May 11, 2022 (2 Year ago)    578 Views

काठमाडौं । विराटनगर महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदैछ ।सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासमा हुने भएको हो ।

कार्कीले कीर्ते कागजात पेश गरेकाले उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय आजको इजलासले गर्नेछ ।

यसअघि वैशाख २२ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि निर्णय गर्ने आदेश गरेको थियो । दुवै पक्षलाई राखेर छलफलपछि अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने भन्दै फुयालको इजालासले आजको पेशी तोकेको थियो ।

फुयालकै इजलासले रिटको पूर्ण सुनुवाइका लागि १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश गरिसकेको छ ।उम्मेदवार कार्कीले बुझाएको कीर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले रिट दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्कीविरुद्धको उजुरी सुनुवाइ नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ ।

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस