Latest News

एमाले उम्मेदवारको ज्यान गएपछि अन्तिम समयमा आएर निर्वाचन सर्‍यो, तोकियो नयाँ मिति

Nepalese Times May 10, 2022 (2 Year ago)    665 Views

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवारको ज्यान गएपछि बैशाख ३० गते त्यस ठाउँमा निर्वाचन नहुँने भएको छ ।

नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लबरु चौधरीको सोमबार राति ज्यान गएको थियो । उक्त वडाको निर्वाचन स्थगित भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

उक्त वडाको निर्वाचन ३ जेठमा हुने भएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जनाकारी दिए । उनका अनुसार २८ र २९ गते उम्मेदवारी मनोनयमन दर्ता र दाबी विरोधका लागि समय छुट्टाइएको छ ।

चौधरीको ज्यान गएपछि अर्को उम्मेदवारको टुंग्गो लगाउन बैठक बस्ने तयारी भइरहेको एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले बताए । स्थानीय तहको निर्वाचनमा कुनै उम्मेदवारको निधन भएमा राजनीतिक दलले अर्को उम्मेदवार उठाउनुपर्छ ।

एमालेबाट उम्मेदवार बनेका चौधरी केही दिन अघि चुनाव प्रचारको क्रममा बिरामी परेपछि उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । उपचारको क्रममा सोमबार राति चौधरीको ज्यान गएको थियो ।

तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर उनले काम गरेका थिए ।

यस्तै नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको ज्यान गएको छ । उनको कालगतिले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए। उनको ज्यान गएपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छन्।

सेखको ज्यान गएकाे खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रक्रियाअनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन चिह्नसमेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।

निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रक्रिया पठाइदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रकृया पूरा गरेर निर्वाचन चिह्न दियौँ।’

प्रतिक्रिया दिनुहोस