Latest News

पश्चिम सेती भारतलाई दिने देउवाको तयारी, यस्तो छ प्रधानमन्त्रीको भित्रि योजना

Nepalese Times May 10, 2022 (2 Year ago)    470 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माणको जिम्मा भारतलाई दिने तयारी भइरहेको बताएका छन्।

मङ्गलवार आफ्नो गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभामा बोल्दै देउवाले त्यसका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्को हप्ता हुने भेटमा कुराकानी गर्ने बताए। उनले सकेसम्म सम्झौता नै गर्ने आफ्नो योजना रहेको सुनाए।

देउवाले भने, चिनियाँ कम्पनीले बनाएको परियोजनाबाट उत्पादित बिजुली भारतले किन्दैकिन्दैन। त्यसैले भारतीय कम्पनीलाई दिएर बनाउने हो।

सरकारी अध्ययन टोलीले नेपाल आफैँले बनाउन नसकिने राय दिएपछि आफू त्यो निष्कर्षमा पुगेको उनको भनाइ छ। जलाशययुक्त उक्त परियोजनाबाट ७५० मेगावाट बिजुली उत्पादन हुने अस्ट्रेलियाको एउटा कम्पनी स्मेकको अध्ययनले देखाएको छ।

तर पछि उक्त कम्पनीले पनि हात झिकेपछि चार दशकदेखि चर्चामा रहेको उक्त परियोजनालाई अहिले सत्ता पक्षीय नेताहरूले चुनावी मुद्दाको रूपमा उठाइरहेका छन्। राष्ट्रिय महत्त्वको उक्त परियोजना बाहेक देउवाले अन्य थुप्रै विषयहरूमा गृहजिल्लाका बासिन्दालाई आश्वासन दिए।

सन् १९८१ मै अध्ययन सुरु गरिएको पश्चिम सेती परियोजनाको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन।

परियोजना निर्माणका लागि सन् २००३ मै भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेशनसँग सम्झौता भएको थियो। उक्त कम्पनीले काम अगाडि बढाउन नसकेपछि २०६८ सालमा सरकारले ठेक्का तोडेको थियो।

त्यसपछि चिनियाँ कम्पनी थ्री गर्जेजसँग परियोजना अगाडि बढाउन सम्झौता भएको थियो। तर, उक्त कम्पनीले पनि काम अगाडि बढाउन नसक्दा परियोजना अलपत्र अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस