Latest News

कांग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन स्थगित गर्ने तयारी

Nepalese Times May 10, 2022 (2 Year ago)    1318 Views

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो। उनको गए राति करिब १ बजेतिर निधन भएको हो।

कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ। उनको हृदयघातका कारण निधन भएको बताइएको छ।

उपमेयर पदकी उम्मेदवारको निधन भएकोबारे कांग्रेसले पठाएको पत्र आज बिहान प्राप्त भएको निर्वाचन अधिकृत कुवेर पाण्डेले बताएका छन् ।

कांग्रेसको तर्फबाट उपमेयर उम्मेदवारको निधन भएको जानकारी आएको र निर्वाचन आयोगमा यसबारे लेखेर पठाउने उनले बताए । त्यस ठाउँमा निर्वाचन स्थगित गर्नेबारे आवश्यक तयारीमेत भएको उनले बताए ।

यो नगरपालिकामा वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ। कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्।

यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको ज्यान गएको छ ।चौधरीको मंगलबार राति ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यहीं क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

उनले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर समेत काम गरेका थिए । उनको शवलाई दाहसंस्कारका लागि दाङ पठाउने तयारी भइरहेको छ ।

यस्तै नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको ज्यान गएको छ । उनको कालगतिले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए। उनको ज्यान गएपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छन्।

सेखको ज्यान गएकाे खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रक्रियाअनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन चिह्नसमेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस