Latest News

चुनावी प्रचार गर्दागर्दै एमालेका अध्यक्ष उम्मेदवारको ज्यान गयो

Nepalese Times May 10, 2022 (2 Year ago)    699 Views

काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको ज्यान गएको छ ।चौधरीको मंगलबार राति ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यहीं क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

उनले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर समेत काम गरेका थिए । उनको शवलाई दाहसंस्कारका लागि दाङ पठाउने तयारी भइरहेको छ ।

यस्तै नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको ज्यान गएको छ । उनको कालगतिले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए। उनको ज्यान गएपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छन्।

सेखको ज्यान गएकाे खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रक्रियाअनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन चिह्नसमेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।

निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रक्रिया पठाइदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रकृया पूरा गरेर निर्वाचन चिह्न दियौँ।’

प्रतिक्रिया दिनुहोस