Latest News

चुनाव नजिकिए सँगै गृह मन्त्रालयले दियो यस्तो निर्देशन

Nepalese Times May 10, 2022 (2 Year ago)    586 Views

काठमाडौं – गृह मन्त्रालयले मतदातालाई स्वतन्त्र रुपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानुन बमोजिम कारबाहीको भागीदार हुने जनाएको छ।

प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता विथोल्ने तथा मतदातालाई प्रभावित पार्न खोज्नेलाई कानुन बमोजिम कारबाही गरिने जनाएका छन्।

निर्वाचनको बहानामा कानुन विपरीतका गतिविधिमा संलग्न हुने र कानुन हातमा लिने छुट कसैलाई पनि नभएको गृह मन्त्रालयले जनाएको छ। त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरुप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करिब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटपुट घटनाहरु घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलापहरु भइरहेका सूचनाहरु प्राप्त भएका छन्।’

प्रतिक्रिया दिनुहोस