Latest News

काठमाडौं महानगरमा माओवादीका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

Nepalese Times May 10, 2022 (2 Year ago)    570 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि राजनीतिक दल परित्याग र प्रवेशको लहर चलेको थियो । विभिन्न दलका नेताहरू आफ्नो पुरानो पार्टी छोडेर नयाँ दलमा आबद्ध भइरहेका थिए । केहीले नयाँ पार्टीबाट उम्मेदवार भए भने कतिपयले टिकट नै पाएनन् ।

राजनीतिक दल परित्याग गर्ने र नयाँ पार्टीमा प्रवेश गर्ने क्रम राष्ट्रिय दलको मान्यता प्राप्त सबै दलमा देखिन्थ्यो । तर, स्थानीय तहमा मतदान गर्न चार दिन बाँकी रहेको बेलामा समेत राजनीतिक दल परित्याग र प्रवेश गर्ने क्रम रोकिएको छैन ।

सोमबार काठमाडौं महानगरपालिका–२४ का उम्मेदवारले नै पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार रहेका राजेन्द्र श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले काठमाडौंका सचिव राजेश शाक्यले श्रेष्ठसहित २४ जना स्थानीय नेताले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए । शाक्यले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा कार्यक्षमताको आधारमा उचित जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यसअघि माओवादीबाट वडा नम्बर १३ र १५ मा वडाध्यक्षका उम्मेदवार समेत एमालेमा प्रवेश गरेका थिए । एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार १३ का वडा अध्यक्षका उम्मेदवार रामशरण डंगोल र १५ का वडा अध्यक्षका उम्मेदवार रत्नकाजी महर्जन माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरिसकेका छन् ।

एमाले प्रवेश गर्दै श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । स्थानीय तहको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप श्रेष्ठको रहेको छ ।

‘प्रचण्ड नातावाद, कृपावादमा लिप्त भइसकेकाले माओवादीमा बसिराख्नुको कुनै अर्थ नै छैन । उनलाई आफ्नो छोरीको चिन्ता छ, अरू नेता कार्यकर्ताको संरक्षणमा ध्यान दिने फुर्सत नै छैन्’ श्रेष्ठले भने, ‘प्रचण्डलाई आफ्ना नातेदारको चिन्ता छ तर एमाले अध्यक्ष कमरेड (केपी शर्मा ओली)लाई देश र जनताको चिन्ता छ, आफ्ना हरेक नेता कार्यकर्ताको संरक्षण गर्ने चिन्ता छ ।’

अहिले पनि अध्यक्ष प्रचण्डलाई भरतपुरमा छोरी रेणु दाहाललाई कसरी विजयी गराउने भन्ने चिन्ताले पिरोलिरहेको उनले बताए । माओवादी केन्द्रको अब कुनै आवश्यकता नै नरहेको बताउँदै उनले एमालेमा सक्रिय रूपमा लागेर समाजसेवामा लाग्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अब केन्द्र नभई रित्तो भइसकेको आरोप लगाएका छन् । ललितपुरमा सोमबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले विगतको स्थानीय तह निर्वाचनमा १ सय २० सिट ल्याएको माओवादीले अहिले भरतपुरमा छोरीलाई जिताउनका लागि कांग्रेसको फेरो दाहालले समात्ने अवस्थामा पुगेको आरोप लगाए ।

‘ताउला लाग्ने मानिसले भान्सा बनाइरहनुपर्छ र ? पर्दैन’ प्रश्न गर्दै ओलीले भने, ‘अहिले हेर्नुस् त माओवादीले घोषणापत्र नै ल्याएन ’cause एमालेतिर आए एमालेको घोषणापत्र र कांग्रेसतिर गए कांग्रेसको घोषणा पत्र छँदै छ ।’

माओवादीका आधा नेताकार्यकर्ता सबै एमालेमा आइसकेको दाबी गर्दै उनले अझै केही दिनमा पार्टी नै रित्तिने ठोकुवा गरेका छन् । माओवादीका साथै अध्यक्ष ओलीले कांग्रेसको समेत आलोचना गरेका छन् ।

माओवादीले आफ्नो घोषणापत्र नै नबनाएको दाबी गरेका अध्यक्ष ओलीले कांग्रेसले एमालेको घोषणापत्र कपीपेस्ट गरेको टिप्पणी गरेका छन् । कांग्रेसको घोषणापत्रमा केही नभएको बताउँदै उनले एमालेले सार्वजनिक गरेको घोषणापत्र सारेर अलिकति फुलबुट्टा भर्ने काम गरेको उनले बताए ।

‘आफ्नो पार्टी सभापतिको नाम ८ ठाउँमा र मेरो नाम ४२ ठाउँमा राखेर घोषणापत्र बनाएको छ । माओवादीको घोषणापत्र नै छैन, कांग्रेसले हाम्रो घोषणापत्र सारेर सार्वजनिक ग¥यो’ ओलीले भने ।

आगामी निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गर्दै उनले पाँच दलीय गठबन्धन एमालेको अगाडि नटिक्ने ठोकुवा गरेका छन् । पाँच दलभित्र तालमेल नभएको अवस्थामा एकढिक्का रहेको एमालेका उम्मेदवारलाई पराजित गर्न सक्ने क्षमता नै उनीहरूसँग नरहेको उनले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस