Latest News

कांग्रेसले पाउने भयो ८० सिट, माओवादी र समाजवादीलाई कति ?

Nepalese Times September 6, 2022 (1 Year ago)    337 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनका लागि भइरहेको सिट बाँडफाँटमा नेपाली कांग्रेस ८० सिट वरिपरी आउने सम्भावना रहेको बताएका छन्।

कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एक सय सिट भन्दै आए पनि ८० सिट वरिपरीमा सहमत हुने सम्भावना रहेको बताएका हुन्।

माओवादीले ६० सिट वरिपरी पाउनेमा अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे। ‘नेपाली कांग्रेसले सुरुमा सय भन्नुभाथ्यो। तर, ८० को वरिपरी आउने सम्भावना बढ्दो छ,’ उनले भने, ‘हामीले पनि ६० भनेका छौँ, ६० बाट केही तलमाथि होला। तर, त्यसैको वरिपरी होला भन्ने हाम्रो विश्वास छ।’

प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले २५–२५ सिटमा दाबी गरिरहेको पनि बताए। दलहरुले गरेको दाबीलाई आधार बनाएर सिट बाँडफाँटको टुंगो लगाइने उनको भनाइ छ।

‘समाजवादी पार्टीले २५ वरिपरी भन्ने कुरा गरेको स्थिति छ। जनता समाजवादी पार्टीले २५ को वरिपरी नै दाबी गरिराखेको स्थिति छ,’ प्रचण्डले भने, ‘यसैलाई आधार बनाएर अहिले हाम्रो सबै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने, मिलेको जति मिलाउने, बाँकी रहेको शीर्ष तहमा बसेर टुंग्याउने भनेर लागिएको छ।’

‘मिलेको जति मिलाउने मिल्न बाँकी रहेको शीर्ष तहमा बसेर टुंग्याउने भनेर लागिएको छ’, प्रचण्डको भनाइ छ । यस्तै प्रचण्डले संसद्को आयु नलम्बिने दाबी गरेका छन् । मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए ।

उनले मङ्सिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने पनि बताए । ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन ।’

प्रतिक्रिया दिनुहोस