Latest News

कुमार कट्टेल ‘जिग्री ब्रो’ले एमाले अध्यक्ष ओलीको क्षेत्रबाट चुनाव लड्ने

Nepalese Times August 31, 2022 (1 Year ago)    505 Views

काठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । ‘म अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको मान्छे । स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना छ,’ उनले भने ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ । उर्गेनको घोडा, मांगेना पुस्तकका लेखक युग पाठकले एमाले अध्यक्ष केपी ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । पाठकले ओली निर्वाचित हुँदै आएको झापा ५ गएर चुनाव लड्ने बताएका हुन् ।

ओलीले असंवैधानिक संसद विघटन गरेका बेला पाठक बृहत् नागरिक आन्दोलनमा संलग्न भएका थिए । उनले ओलीको आलोचना गर्दै लेखहरु लेख्दै आएका छन् ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि ओलीविरुद्ध खडा हुने क्रममा आफूले घोषणापत्र लेखिरहेको उनले जानकारी दिए । नेपाली, अंग्रेजीलगायत विभिन्न भाषामा उक्त घोषणापत्र आउने उनको भनाई छ ।

‘दार्शनिक दस्तावेज तयार पारेको हो, अबको समयमा यत्तिकै हावा कुरा गरेर हुँदैन,’ अनलाइखनबारसँग पाठकले भने, ‘जनताले बुझ्नेगरी त्यसलाई सामान्य भाषामा पनि तयार पार्छु । अहिलेसम्मका राजनीतिक दस्तावेजहरु युरोपकेन्द्री छन् भनेर पछिल्ला रिसर्चहरुले व्यापक हाइलाइट गरे । अब त्यसलाई उदारवाद र साम्यवादको भाष्यबाट बाहिर निकाल्नुपर्छ ।’

बाल्यकाल झापामा बिताएका पाठक पछिल्लो समय हेटौडा तथा काठमाडौं बस्दै आएका छन् । सरकारी जागिर छाडेर फुलटाइम लेखनमा आएका उनी राजनीतिक अभियानहरुमा पनि सक्रिय थिए । कुनै बेला कट्टर कम्युनिस्ट सदस्य बनेर हिँडेका पाठक नयाँ राजनीतिक पार्टी खोल्ने सुरमा छन् । तर त्यो कम्युनिस्ट पार्टी भने नहुने उनको प्रष्टीकरण छ ।

प्रतिक्रिया दिनुहोस