Latest News

महेश बस्नेतको क्षेत्रमा पनि चल्ने भयो डोजर, जारी भयो ३५ दिने सूचना (सूचनासहित)

Nepalese Times August 31, 2022 (1 Year ago)    319 Views

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ ।अवैध संरचना हटाएको भन्दै भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेतले चर्को विरोध गर्दै आएका छन् ।

तर उनकै जिल्ला भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ३५ सार्वजनिक सूचना निकालेर अरनिको राजमार्ग र त्यस आसपासका अनधिकृत संरचनाहरू हटाउन भनेको छ । नगरपालिका क्षेत्रभित्र अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरूमा समेत मापदण्ड विपरित सार्वजनिक बाटो, जग्गा अतिक्रमण गरिएकाले आवागमनमा बाधा पुगेको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले चेतावनी दिएको छ। आज मंगलबारका मितिले ३५ दिनभित्र अवैध संरचना हटाउने तथा अनधिकृत प्रयोग नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरू गरेपछि त्यसको प्रभाव अन्य नगरपालिकामा पनि देखिन थालेको हो ।

पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए ।

त्यस्तै, बालेन शाहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियान देशका अन्य ठाउँमा पनि पुगेको छ । वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएका हुन् । सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ ।

वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताए । उनका अनुसार गत जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ । वीरेन्द्रनगर–३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ । खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षात्मा बाढी र कटानको समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस