Latest News

खुल्ने भयो म्यादी प्रहरीमा भर्ना, कति पाउँछन् तलब ?

Nepalese Times August 30, 2022 (1 Year ago)    289 Views

काठमाडौं । म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार ४ सय रुपैयाँ पाउने भएका हुन् ।

‘अर्थ मन्त्रालयबाट प्रत्येक म्यादी प्रहरीलाई ४० दिनको ४० हजार तलब, कपडा र जुत्ताको लागि ६ हजार ५०० र ३ दिनको खाजा खर्च ३ सयका दरले बजेट आएको छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले भने ।

उनका अनुसार चुनावको अघिल्लो दिन, चुनावको दिन र अर्को दिनका लागि प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन् । सरकारले आइतवार आगामी निर्वाचनमा लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ ।

प्रहरी प्रवक्ता राईका अनुसार दशैंलगत्तै म्यादी प्रहरीको भर्ना प्रकृया शुरु हुनेछ । यसपालि पनि प्रहरीले ४० दिनको लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । ‘हामीले ४० दिनको लागि दशैं पछाडी म्यादी प्रहरी भर्ना प्रकृया शुरु गर्ने गरी तयारी गरिरहेका छौँ’, डीआईजी राईले लोकान्तरसँग भने ।

म्यादी प्रहरीका लागि सरकारले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याएको छ । हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई थप ज्याकेट किन्न १ हजार रुपैयाँ बजेट छुट्याइएको छ । प्रहरीले सवारी साधन किन्नको लागि ७५ करोड रुपैयाँ बजेट पाएका छ । समग्रमा प्रहरीले निर्वाचन प्रयोजनका लागि १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बजेट पाएको छ ।

प्रवक्ता राई भन्छन्, ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजान्छौं ।’ उनका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् । चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।

‘उनीहरुलाई खटाउँदा तालिम दिइरहनु परेन। भर्ना गरेर सिधै ड्युटीमा पठाउँदा भयो। २०७४ को चुनावका म्यादीलाई पनि बोलाउँछौँ,’ प्रवक्ता राईले भने, ‘जतिसक्दो कम नयाँ म्यादी भर्ना गर्ने लक्ष्यअनुसार योजना बनाउन निर्देशन दिइएको छ।’

१० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेका कति जनशक्ति छन्, उनीहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। १० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेकाहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस