Latest News

कांग्रेस नेताहरुलाई भेटेपछि राष्ट्रपतिले बोलाइन् एमालेका नेताहरु

Nepalese Times August 29, 2022 (1 Year ago)    304 Views

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि शीतल निवास बोलाएकी छन्। समसमायिक विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए।

‘छलफलका लागि भन्दै राष्ट्रपतिज्युले हामीलाई साँझ ५ बजे बोलाउनुभएको छ। समसमायिक विषयमा छलफल हुने कुरा छ,’ उनले अन्नपूर्णसँग भने। शीतल निवास स्रोतका अनुसार नागरिकता विधेयक विषयमा छलफलका लागि एमाले नेताहरुलाई डाकिएको हो। छलफलमा एमालेका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग नागरिकता विधेयकको विषयमा चासो राखेकी छन्। प्रधानमन्त्री देउवाले धेरै नेपालीहरु नागरिकताविहीन भएकाले उक्त विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए।

छलफलपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकताबारे राष्ट्रपति भण्डारीका जिज्ञासालाई आफूहरुले प्रष्ट्याएको प्रतिक्रिया दिए।

‘उहाँका नागरिकता सम्बन्धमा केही केही जिज्ञासाहरु थिए। राजनीति, चुनाव यिनै कुराबारेमा छलफल भयो। हामीले यसबारे प्रष्ट पार्यौँ,’ उनले भने, ‘विगतमा केपी ओली सरकारले अध्ययादेश ल्याएको थियो। त्यही अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’

छलफलका क्रममा राष्ट्रपति भण्डारीले मंसिर ४ का लागि तय गरिएको संघीय र प्रादेशिक निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको कार्कीको भनाइ थियो। ‘राष्ट्रपतिले चुनाव निष्पक्ष रुपले सम्पन्न होस् भन्नुभयो,’ उनले भने।

दुवै संसदबाट पारित नागरिकता विधेयक फिर्ता पठाएपछि शीतलनिवाससँग बढ्दो दूरीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पदाधिकारीका साथमा राष्ट्रपति भण्डरीलाई भेट्न शीतलनिवास गएका थिए।

उनी कांग्रेस सभापतिको हैसियतमा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्। सभापति देउवाले आफूसँग उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य कार्कीलाई शीतलनिवास लगेका थिए।

प्रतिक्रिया दिनुहोस