Latest News

महामन्त्री गगनसहित यी नेताहरुलाई लिएर देउवा किन पुगे शितल निवास ?

Nepalese Times August 29, 2022 (1 Year ago)    341 Views

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू शितल निवास पुगेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा, कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन्।

उनीहरू सोमबार दिउँसो शितल निवास पुगेका छन्। ‘राष्ट्रपतिले भेट्न बोलाएपछि सभापतिसहित नेताहरू शितलनिवास पुग्नुभएको छ,’ स्रोतले भन्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन्।

नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ।राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि पठाएको विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ।

समितिको सभापति जेष्ठ सदस्य नारायण दत्त मिश्र छन्। उनी पनि नेपाली कांग्रेसकै सांसद हुन्। समितिमा रहेका १५ सांसदमध्ये सत्ता गठबन्धनमा रहेका दलहरूका १० सांसद छन्। एमालेबाट ४ र १ जना स्वतन्त्र छन्।

कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मिश्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी छन्।

स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि गठबन्धन पक्षधर हुन्। यद्यपि देवकोटा यसअघि विधेयकको विपक्षमा थिए। समितिमा एमालेका तर्फबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ र विमला राई पौडेल छन्।

समितिले विधेयकलाई फास्ट ट्र्याकमा पारित गरेर संसदमा लैजाने माओवादी केन्द्रका सांसद सुरेश आलेले बताए। ‘हामीले फास्ट ट्र्याकबाट पारित गर्छौं। राष्ट्रपतिले अपमानजस्तो महसुस गर्नुभयो। अलिकिति विधि प्रक्रिया मिलाउने भनेर गरिएको हो,’उनले भने,’त्यही विधेयक पारित हुने हो। त्यसमा परिवर्तन हुँदैन।’

प्रतिक्रिया दिनुहोस