Latest News

मेयर हर्क साम्पाङको राजीनामा माग

Nepalese Times August 29, 2022 (1 Year ago)    306 Views

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ । सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा मागेको हो ।

केही दिन अगाडी धरानका मेयर साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जीनियरहरुलाई कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर राप्रवि सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन् ।

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफू बाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसा प्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणी प्रति राप्रवि सङ्गठन घोर भर्त्सना र विरोध गर्दछ ,’ विज्ञप्तिमा उल्लेख छ ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवालको राजनैतिक आगमनसँगै नयाँ दिल्लीले पाएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ । मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनैतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठेको राप्रवि सङ्गठनको ठहर छ ।

‘यस्तो गैरजिम्मेवार नेतृत्व धरानले पाइरहँदा धरानको विकास भविष्य अन्धकारमा पुग्न लागेको कुरा सहजै स्विकार्न सकिन्छ । आफू केही गर्न नसक्ने र अरूको कामलाई विरोध गर्ने, धरानको विकासमा अघि बढ्न भ्याइनभ्याइ हुनु पर्ने बेलामा सानो सोच राखेर भ्रष्टाचारी नेताहरूको शैलीलाई पछ्याउँदै हिँड्नुले उहाँ अब अराजकताको बाटोतिर लम्कनुभएको कुरा प्रस्ट्याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस