Latest News

गगन थापाले काठमाडौं ४ बाट ह्याट्रिक गर्लान् ? यस्तो छ अंकगणित

Nepalese Times August 21, 2022 (1 Year ago)    326 Views

काठमाडौं – मंसिर ४ को चुनाव नजिकिदै गर्दा काठमाडौं क्षेत्र नं ४ धेरैका लागि चासोमा परेको छ । उक्त क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दुईपटक चुनावी जितिसकेका छन् । यसपटक उनी ह्याट्रिकको तयारीमा छन् ।

४० नपुग्दै सभासद बनेर राजनीतिमा छलाङ मारेका थापाले दुईपटक काँग्रेसबाट टिकट पाएर काठमाडौं क्षेत्र नं ४ बाट चुनाव पनि जिते । उनी यसपटक लोकप्रीय मतका साथ काँग्रेस महामन्त्री बने । कतिपयले उनलाई भावी प्रधानमन्त्रीका रुपमा देख्न थालेका छन् ।

काठमाडौं ४ मा गगनले २०७४ को चुनाव जित्दा निकै चुनौतीको सामना गर्नुपरेको थियो । नेकपा एमालेका डा. राजन भट्टराईलाई ३ हजार ३१८ मतले पराजित गरेका थिए । यसपटक उक्त क्षेत्रमा गगनलाई चुनौती दिने एमालेमात्र नभई स्वतन्त्र उम्मेदवारहरुको पनि नाम आइरहेको छ ।

उक्त क्षेत्रबाट राजन भट्टराई देखि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीको नाम चर्चामा छ । मुकुन्दल्यान्ड बनाउने अभियानका साथ चर्चामा रहेका मुकुन्द घिमिरेले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

चुनावमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र जनमोर्चाको तालमेल हुँदा काठमाडौं ४ मा यीमध्ये तीन दलको मात्र पकड बलियो देखिन्छ । त्यसमा पनि गठबन्धनमध्येबाट काँग्रेस र नेकपा एसको मत राम्रो छ ।

२०७९ को स्थानीय चुनावलाई दृष्टिगत गर्दा काठमाडौं क्षेत्र नं ४ मा पर्ने काठमाडौं महानगरपालिकाको १ मा एमाले, ८, ७ र ३० मा काँग्रेसले वडाध्यक्ष जितेका थिए । गठबन्धनको दलको समेत मतलाई आधार मान्दा महानगरपालिकाका १, ८, ७ र ३० मा एमाले र राप्रपाको मत जोड्दा पनि बढी देखिन्छ ।

काठमाडौं ४ मा पर्ने बुढानिलकण्ठ नगरपालिका १, २, ८, ९, १०, ११, १२ र १३ वडामा सबै वडाध्यक्ष एमालेले जितेको थियो । त्यहाँ एमाले र राप्रपाको मत जोड्दा काँग्रेससहितको गठबन्धनको मतभन्दा बढी नै देखिन्छ ।

२०७४ को प्रतिनिधि सभा र २०७९ को स्थानीय चुनावको मतलाई विश्लेषण गर्दा काठमाडौं क्षेत्र नं ४ मा गगन थापालाई चुनाव सजिलो नभएको देखिन्छ । यसपटक उक्त क्षेत्रमा रोचक भिडन्त हुने सम्भावना बलियो छ ।

काँग्रेस महामन्त्री हुनु, लोकप्रीयता कायमै रहनु गगनको सकारात्मक पक्ष हो । तर, दुईपटक काठमाडौं ४ बाट जितेपनि उक्त क्षेत्रको विकासमा बोले जस्तो काम गर्न नसकेका गुनासाहरु आउने गरेका छन् । यसकारण गगनलाई गठबन्धनका दलहरुले कसरी साथ दिन्छन्, उनको लोकप्रीयताले अझै काम गर्छ कि गर्दैन भन्ने विषयले चुनावलाई प्रभावित गर्ने स्पष्ट छ।

एमाले फुटेकाले गगनलाई फाइदा हुनसक्छ । तर, नाम चलेका स्वतन्त्र उम्मेदवारहरुको प्रभावले उनलाई पनि असर पार्न सक्छ । गगनलाई काठमाडौं ४ बाट ह्याट्रिक गरेर किर्तिमान बनाउने अवसर छ जुन सजिलो भने छैन ।

प्रतिक्रिया दिनुहोस