Latest News

कांग्रेस नेता गिरिलाई श्रद्धाञ्जली दिन को- को पुगे सानेपा ? (तस्बिरसहित)

Nepalese Times August 21, 2022 (1 Year ago)    412 Views

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

सानेपास्थित पार्टी कार्यालयमा उनले गिरिको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन्। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कांग्रेस केन्द्रीय कार्यालय पुगेर गिरिलाई श्रद्धाञ्जली दिएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भने,‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ ।’

प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा जोड दिए । ‘अहिले उ उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई ।’

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरु पनि गिरिको शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगेका छन्।

पार्टी कार्यालय सानेपा ल्याउनुअघि गिरिको पार्थिव शरीर मेडिसिटी अस्पताल प्रांगणमा राखिएको थियो। शेखर कोइराला लगायतका नेताहरु मेडिसिटी पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

गिरिको शव दिनभर पार्टी कार्यालयमा राखेर अपरान्ह पशुपति आर्यघाटमा लगिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। गिरिलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका साथै अन्य राजनीतिक दल तथा सर्वसाधारण पुगेका छन्।

प्रतिक्रिया दिनुहोस