Latest News

माधवले एमालेमा १० भाइको ‘हरिबिजोग’ भनेपछि भीम रावलले फर्काए मुखभरीको जवाफ

Nepalese Times August 21, 2022 (1 Year ago)    361 Views

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमै बसेको भए १० भाइको जस्तै ‘हरिबिजोग’ हुने रहेछ भनेपछि एमाले नेता भीम रावलले जवाफ फर्काएका छन्।

तत्कालीन एमालेमा माधवकुमार नेपाल समूहमा रहेका भीम रावल पनि पार्टी विभाजनका बेला एमालेमै रहने १० भाइमध्ये एक हुन्।

शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेमा दसबुँदे सहमति गरेर बस्ने नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘एमालेमै बसेको भए यतिखेर १० भाइजस्तै हरिबिजोग हुने रहेछ।’

यसैमा एमाले नेता रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले दसबुँदे सहमति गरेर एमालेमै नबसेको भए अहिले देशकै हरिबिजोग हुने रहेछ भनेर जवाफ फर्काएका हुन्।

रावलले लेखेका छन्, ‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भा गबन्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।’

एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादी अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा आबद्ध छ।

प्रतिक्रिया दिनुहोस