Latest News

कांग्रेस नेता प्रदीप गिरीको निधन

Nepalese Times August 20, 2022 (1 Year ago)    384 Views

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गिरिको निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।

अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ। डाक्टरले मृत घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नु हुन्छ ।’

घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।

गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको थियो । सिरहाका गिरिलाई बौद्धिक नेताका रुपमा चिनिन्छ ।

गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई भारत स्थित हिन्दुजा लगायतका प्रसिद्व अस्पतालको उपचार पश्चात बिगत २६ दिनदेखि नेपाल मेडीसिटी अस्पताल भैंसिपाटिमा उपचारका लागि भर्ना भएका थिए ।

पछिल्लो तीन दिनदेखि गिरिको आईसीयूको ५५० नम्बरको बेडमा उपचार भइरहेको थियो । गिरिको स्वास्थ्य लाभको कामना गर्दै काठमाडौंमा शुक्रबार प्रार्थाना सभा आयोजना गरिएको थियो । साथै उनको जन्म स्थल सिरहाको बस्तीपुरमा समेत शुक्रबार किर्तन लगाउने र तुलसीमोठमा साँझपख बत्ति बालेर स्वास्थ्य लाभको कामना गरिएको  थियो ।

शुक्रबार गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं’भनेर ट्वीट गरेका थिए ।

शुरुमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको थियो । ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको थियो ।

गतबर्ष साउन महिनामा भारतमा उपचार शुरु भएर नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न भएपछि एक साताको लागि काठमाडौं आएका गिरि डाक्टरहरुकै सल्लाहमा फेरी उपचारका लागि मुम्वई गएका थिए ।

पाँच बर्ष अघि उनलाई प्रोस्टेड क्यान्सर भएकाले मुम्वईमा उपचार पछि पूर्ण निको भएर नियमित औषधी खाँदै थिए । गिरिका बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा उनी राजनीतिमा संलग्न रहेका थिए ।

वि‍.सं. २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेका गिरि राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष र २०४५ सालमा बहुदलिय व्यवस्थाको पक्षमा आन्दोलन अगाडी बढाउने क्रमको शुरुवातमै पक्राऊ परेका थिए ।

उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए भने पटक पटक नेपाली कांग्रेसको केन्द्रिय सदस्य रहेका थिए । कांग्रेसमा शेरबहादुर देउवालाई साथ दिने व्यक्तित्वका रुपमा चिनिएका गिरिले १५ औं महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र बिमलेन्द्र नीधिलाई देउवाको पक्षमा लाग्न सहमत गराउन भारतमा बसीबसी महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रदीप गिरि आफू २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए भने पछि संविधानसभामा समानुपातिक सांसदको रुपमा र २०७४ सालमा सिरहा क्षेत्र नं. १ बाट संघीय सांसदमा विजयी भएर अहिले सांसदको रुपमा रहेका थिए ।

कहिल्यै मन्त्री हुन नचाहने प्रदीप गिरिले केहीलाई मन्त्री भने बनाएका थिए । उनी हक्की र राजनीतिक ज्ञानले ओतप्रोत भएका व्यक्तिको रुपमा परिचित थिए । उनले राजनीतिक विश्लेषणमा जहिलेपनि धार्मिक उदाहरणहरु दिने र नेपाली कांग्रेसलाई संकटपर्दा संसदमा बेला बखत निकासको बिचार दिएर उनलाई कांग्रेस चाहिनु भन्दा नेपाली कांग्रेसलाई प्रदीप गिरि चाहिएको छ भन्ने सन्देश दिन सफल भएका थिए ।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपालको बिषयमा उक्त विश्वविद्यालयमा विद्यावारिधी गर्न आउने विद्यार्थीहरुको लागि नेपालको बारेमा आधारभुत जानकारी दिनका लागि प्राध्यापन समेत गरेका थिए । गिरिले लेनिन, नारी, मार्क्सवाद, गान्धी, लोहिया, विपीका बारेमा दर्जनौ पुस्तकको लेखक र सम्पादक भएर पुस्तक प्रकाशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस