Latest News

राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले गगन थापासँग भिड्ने, कसले मार्ला बाजी ?

Nepalese Times August 20, 2022 (1 Year ago)    531 Views

काठमाडौं ।

नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीले पनि मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने भएकी छिन् ।

नेकपा एमालेले उषाकिरणलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको हो। उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् ।

अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् ।

मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन् ।

भण्डारी यसअघि नै सक्रिय राजनीतिमा भए पनि संसदीय प्रतिष्पर्धामा आउन एमाले अध्यक्ष ओलीले नै जोड गरिरहेको बालकोट निकट स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्या भण्डारी अब सक्रिय राजनीतिमा फर्कने सम्भावना न्युन रहेको अवस्थामा उषाकिरण भण्डारीलाई अगाडि सार्न उपयुक्त बेला भएको एमालेका ती नेताले तर्क गरे ।

भण्डारी संसदीय राजनीतिमा आएमा एमालेमा पनि पारिवारिक विरासतको राजनीतिले ठाउँ पाउँदै गएको मानिने छ ।

भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियो । पार्टी अध्यक्ष ओलीको चाहना उषाजीलाई उठाउने रहेको भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले बताएका छन् ।

भण्डारीलाई काठमाडौं २ मा लैजान सकिने एमालेका नेताहरुले बताएका छन् । यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने उनीहरुको भनाइ छ ।

भण्डारीले भने आफ्नो उम्मेदवारीबारे कुनै निर्णय नभएको दाबी गर्दै त्यसबारे चर्चा गर्न चाहिनन् । ‘म अहिले उठ्नेबारे कुनै निर्णय भएको छैन, त्यो पार्टीको कुरा हो,’ भण्डारीले भनिन्, ‘मैले कुनै इच्छा पनि देखाएकी छैन ।’

यो निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनबो तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई टिकट दिने चर्चा भइरहेको छ ।

यसअघि काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा ६ जना एमाले उम्मेदवार विजयी भएका थिए । ४ क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो ।

कांग्रेसले काठमाडौं १ मा प्रकाशनमान सिंह, ४ मा गगन थापा, ६ भीमसेनदास प्रधान र १० राजेन्द्रकुमार केसीले जितेका छन् ।
क्षेत्र नं. २, ३, ५, ७, ८ र ९ मा भने एमाले उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस