Latest News

सकियो सत्ता गठबन्धनको बैठक, के-के भयो निर्णय ?

Nepalese Times August 19, 2022 (1 Year ago)    266 Views

काठमाडौं ।

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आफूहरुको साझा अवधारणा निर्माणको जिम्मा कृष्ण सिटौला नेतृत्वको कार्यदललाई नै दिने निर्णय लिएका छन्।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि साझा अवधारणा निर्माणको जिम्मा पनि सिटौला नेतृत्वको कार्यदललाई नै दिएको हो।

बैठकपछि बोल्दै कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्।

‘गठबन्धनको शीर्ष नेताले चाँडै आफ्नो कार्यसम्पादन पूरा गर्न कार्यदललाई भनेको छ’, उनले भने, ‘कार्यदलले चाँडै आफ्नो कार्यसम्पादन पूरा गरेर प्रतिवेदन बुझाउनेछ।’

उनका अनुसार कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेताहरु बस्ने छन्। ‘कार्यदलले साझा अवधारणा बनाइसकेपछि शीर्ष नेताहरु बस्नु हुनेछ। हामी पनि छिट्टै बस्छौँ’, उनले भने।

कार्कीका अनुसार अहिले नै सिट बाँडफाँटको टुंगो भइसकेको छैन। ‘अहिले नै सिट बाँडफाँटतिर जाने बेला भइसकेको छैन’, उनले भने, ‘चाँडो भन्दा चाँडो यसबारे हामी जानकारी दिन्छौँ। हामी देशलाई एउटा निष्कर्षमा पुर्‍याउने बाटोमा छौँ।’

 

प्रतिक्रिया दिनुहोस