Latest News

मोरङ–२ मा मिनेन्द्र रिजाल कि सुजाता कोइराला ?

Nepalese Times August 19, 2022 (1 Year ago)    371 Views

काठमाडौं ।

मंसिर ४ गतेका लागि संसदीय चुनाव हुने भएसँगै राजनीतिक चटारो चुलिएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषयले प्राथमिकता पाइरहेको छ भने अरु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु पनि राजनीतिक मैदानमा होमिईसकेका छन् ।

यसैक्रममा मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल कि सुजता काइरालाले टिकट पाउलान् ? भन्ने चासो भइरहेको छ ।

मोरङमा ६ वटा संघीय निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। मोरङ २ मा गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसबाट कसले टिकट पाउँछ भन्ने विषय निकै पेचिलो बनेको छ। यो क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजालले जितेको क्षेत्र हो।

अहिले सत्तागठबन्धनले सिट बाँडफाँडका लागि बनाएको कार्यदलमा पनि अघिल्लो निर्वाचन जुन पार्टीले जितेको छ सोही पार्टीलाई दिने गरि छलफल भइरहेको छ। यद्यपी नीतिगत निर्णय भने भएको छैन।

त्यसैले यो क्षेत्र कांग्रेसलाई नै पर्ने निश्चित जस्तै भएको छ। तर कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने विषय भने निकै सकस देखिएको छ। यहाँ रिजालसँगै नेतृ सुजाता कोइराला पनि बलियो आकांक्षीका रुपमा देखिएकी छिन्।

यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले लगातार तीनपटक चुनाव जितेको क्षेत्र हो। उनले यही क्षेत्रबाट २०४८, २०५२ र २०५६ सालमा लगातार संसदीय निर्वाचन जितेका थिए। सुजाता उनै गिरिजाकी पुत्री हुन्।

गिरिजाप्रसाद कोइरालाको पुरानो आधार क्षेत्र भएकाले कांग्रेसका लागि यो सुरक्षित क्षेत्र पनि मानिन्छ। गिरिजाले यो क्षेत्रको साथ साथै सुनसरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट पनि चुनाव जित्न थालेपछि मोरङमा ०५२ र ०५६ मा भएको उप–निर्वाचनमा कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायले चुनावमा प्रतिस्पर्धा गरेका थिए र निर्वाचन पनि जितेका थिए।

यसरी यो क्षेत्रबाट उपाध्यायले २ पटकसम्म निर्वाचन जितेर गिरिजाको बिँडो थामेका थिए। कांग्रेस र कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ मा दोस्रो संविधान सभाको चुनावमा भने एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले जितेका थिए। उनले कांग्रेसका उनै उपाध्यायलाई पराजित गरेर कांग्रेसको गढ भत्काएका थिए।

तर ०७४ सालको प्रतिनिधिसभामा निर्वाचनमा तत्कालीन बामगठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पोखरेल भने फेरि पराजित हुन पुगे। उनी कांग्रेसमा मिनेन्द्र रिजालसँग पराजित भए।रिजालले १ हजार ८ सय ५ मतले पछि पार्दै निर्वाचित भएका थिए। रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरी निर्वाचित हुँदा पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए।

यसरी कांग्रेसको गढलाई पुरानै लयमा फर्काएका रिजाल अबको निर्वाचनमा पनि प्रमुख दावेदार हुन्। तर उनलाई गिरिजा पुत्री सुजाताले सहजै यो ठाउँ छोड्ने देखिएकी छैनन्। कोइराला रिजालको लागि चुनौती बनेकी छिन्।

अघिल्लो निर्वाचनमा समानुपातिक कोटामा बसेकी कोइराला अहिले भने प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्दै चनावी अभियानमा होमिइसकेकी छिन्।

अहिले यो क्षेत्रमा कोइरालाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्रता दिइरहेकी छिन्। यता रिजाल पनि उत्तिकै चुनावी अभियानमा होमिएका छन्। उनी पनि गृहजिल्ला मोरङ मै क्रियाशील हुन थालेका छन्।

यो क्षेत्रबाट धेरै जना आकांक्षी भएपनि रिजाल आफूले नै टिकट पाउनेमा आशावादी छन्।
रिजालले सिटबाँड फाँटको लागि बनेको कार्यदलले क्षेत्र नम्वर २ कांग्रेसले नै पाउनु पर्ने पनि बताएका छन्। अहिले कांग्रेसबाट नै आकांक्षी धेरै हुनु पनि स्वभाविक रहेको उनले बताए।

रिजाल नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी संविधानसभाको दुबै निर्वाचनमा समानुपातिक सभासद थिए। उनलाई नेपाली राजनीतिक क्षेत्रको विद्वान नेताका रूपमा चिनिन्छ।

रिजाल पहिलो पटक माधवकुमार नेपाल नेतृत्वको मन्त्रिमण्डलमा संस्कृति तथा नागरिक उड्यान मन्त्री,दोस्रो पटक सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डलमा सूचना तथा सञ्चारमन्त्री र तेस्रो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए।

तर कांग्रेसको १४ औँ महाधिवेशनमा डा.शेखर कोइरालको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका रिजाल महाधिवेशनमा पराजित भएपछि नैतिकताको आधारमा रक्षामन्त्रीबाट राजिनामा दिएका थिए।

रिजालको राजीनामाको विषयले सामाजिक सञ्जालमा मात्र देखि कांग्रेसभित्रै पनि ठिक कि बेठिक भन्ने बहस गरायो। कतिपयले नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरीलाई तोड्दै रिजालले नैतिकता देखाएको भन्ने चर्चा पनि चल्यो।

उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्याबारिधि गरेका छन्। उनले सोही विश्वविद्यालयमा तीन वर्ष अध्यापन गराएको पनि अनुभव छ। सुजाता कोइरालालाई भने पिता गिरिजाप्रसाको लिगेसीको आधारमा मात्र राजनीतिमा जर्वजस्त अटाउँन सकेको आरोप पनि लाग्छ।

उनी पिता गिरिजाप्रसाद राजनीतिमा सक्रिय हुँदै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनिकेकी थिइन्। हाल उनी कांग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा रहेकी छिन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा प्रकाशमान सिंहको प्यालनबाट उपसभापतिको उम्मेदवार बनेकी कोइरालाले कुनै लोकप्रिय मत प्राप्त गर्न सकिनन्।

प्रतिक्रिया दिनुहोस