Latest News

माओवादी केन्द्रलाई ६० सिट !

Nepalese Times August 17, 2022 (1 Year ago)    339 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा आफूहरुले ६० सिट पाउनुपर्ने दाबी गरेको छ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिट दाबी गर्न दबाब दिइरहेका छन् ।

२०७४ चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले ३७ सिट जितेको थियो । २०७४ सालको चुनावमा एमाले र माओवादीबीच ६०–४० को भागबण्डा भएको थियो । जस अनुसार माओवादीले ६० सिटमा उम्मेदवारी दिएको थियो ।

त्यसबेला माओवादी केन्द्रबाट चुनाव जितेकामध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी एमालेमा रहेका छन् ।तर यो पटक डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमले माओवादीको चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् ।

माओवादी केन्द्रले ६० सिट मागेको भएपनि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने त्यसलाई मान्न तयार नहुँदे देखिएको छ । नेपाली कांग्रेसका नेताहरुले १०० सिट आफूहरुले पाउनुपर्ने बताइरहेका छन् ।

यस्तै संसदीय चुनावका लागि सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न बनाएको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले कुन दलले कति सिट पाउने हो भन्ने बटमलाइनबारे शीर्ष नेतासँग छलफल गर्ने भएका छन्।

बुधबार बालुवाटारमा बसेको कार्यदलको बैठकमा मापदण्ड नटुंगिएपछि सिटौलाले शीर्ष नेतासँग छलफल गरेर बटमलाइनबारे बुझ्ने बताएको कार्यदलका सदस्य कांग्रेस महामन्त्री गगन थापाले बताए।

‘कार्यदलका संयोजकले सबै शीर्ष नेतालाई भेटेर सिटको बटमलाइन माग्नु हुनेछ। एक-दुई दिनभित्रै टुंगो लगाउने गरी छलफल हुन्छ,’ थापाले भने।

सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा छलफल गर्नेछन्।

कार्यदलका एक सदस्यका अनुसार अब संयोजक सिटौलाले शीर्ष नेताहरुसँग भेट गर्ने, आवश्यक परे संयुक्त रुपमा पनि छलफल गर्ने सहमति भएको छ । संयुक्त बैठक औपचारिकतामा मात्र सीमिति भएकाले दलहरुबीचमा पनि छलफल गरेर एकअर्काका अप्ठ्यारो बुझ्ने पनि सहमति भएको छ ।

बैठकपछि कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि अहिलेसम्म भएको छलफलबारे नेताहरुलाई जानकारी गराउने र एउटा निर्णयमा पुग्ने बताए । उनले अघि भने, ‘मोडालिटीमा छलफल गरेका छौं र त्यसलाई केन्द्रमा राखेर सिट विभाजनको एउटा निष्कर्षको चरणमा अगाडि बढ्दैछौं ।’

सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल भइरहेको कार्कीले बताए । सबैलाई न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने सहमति भएको उनको भनाइ थियो ।

हालै नेकपा माओवादीको चुनावचिन्हबाट चुनाव लड्ने सहमति गरेका डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई कसरी स्थान दिइन्छ भन्ने प्रश्नमा कार्की खुल्न चाहेनन् । उनीहरुको विषयमा छलफल जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस