Latest News

बालेनले प्रधानमन्त्री देउवालाई भेटे, के–के भयो कुराकानी ?

Nepalese Times August 16, 2022 (1 Year ago)    416 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

भेटमा बालेनले प्रधानमन्त्री देउवासँग फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् ।

मेयर शाहले प्रधानमन्त्री देउवालाई बन्चरेडाडा ल्यान्डफिल साइट जाने सडक खण्डको स्तरोन्नति गर्न आग्रह गर्दै सरकारको तर्फबाट भएका प्रतिबद्धताहरू कार्यान्वयन गराउनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको ।

शाहको सचिवालयमा फोहोर व्यवस्थापन सम्बन्धी हेर्दै आएका विज्ञ सुनिल लम्सालका अनुसार स्थानीयको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको थियो ।

मेयर शाहले इमरजेन्सी बजेट विनियोजन गरेर भए पनि भत्किएको सडक बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको लम्सालले जानकारी दिए ।

केही समययता सत्तारुढ दलकै स्थानीय नेताले बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । महानगरले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्दै आएको छ ।

मेयर बालेनले आज नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो नबनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेको भनेर कटाक्षसमेत गरेका छन् ।

उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटोको एकदमै नाजुक अवस्थामा रहेको छ । जसले गर्दा उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान निकै कठिन भैरहेको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले भनेका छन्, ‘श्रीमान प्रचण्डज्यु, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

छिल्लो समय सत्ताधारी गठबन्धनका ३ दलहरुका धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर(१ का प्रमुखहरुले बञ्चरेडाँडामा फोहर विसर्जन स्थायी रुपमा बन्द गर्न माग गर्दै विज्ञप्ति नै जारी गरेपछि बालेनले त्यसको विरोध गर्दै आएका छन्।

मंगलबार पनि काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।

तनाव सिर्जना भएपछि नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस