Latest News

चुनाव जित्नका लागि माओवादी रोजेको हुँः वामदेव गौतम

Nepalese Times August 16, 2022 (1 Year ago)    347 Views

काठमाडौं ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा रोजेको बताएका छन् ।

आउँदाे चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए ।

माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने भन्दै उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चितता रहेको बताए ।

उनले भने, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नका लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो ।’ हँसिया हथाैडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको उनलको दाबी छ ।

इमानदारिताका साथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको भन्दै उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने बताए ।

चुनाव जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै चुनावमा पराजित गर्न लागिपरेको बताए ।

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर चुनावमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए ।

मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस