Latest News

सत्ता गठबन्धनको बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times August 14, 2022 (1 Year ago)    520 Views

काठमाडौं ।

सत्ता गठबन्धनको बैठकले सरकारलाई दुइटा विषयमा सुझाव दिएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई दुइटा सुझाव दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पहलकदमी लिन सरकारलाई सुझाएको छ ।

त्यस्तै, महँगी नियन्त्रण गर्नका लागि अनुगमनलाई चुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिएको उनले बताए ।

उनले भने,
सत्ता गठबन्धनको बैठकले सरकारलाई दुइटा सुझाव दिएको छ । पहिलो काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि पहलकदमी लिन र दोस्रो महँगी नियन्त्रण गर्नका लागि अनुगमनलाई चुस्त प्रभावकारी बनाउन सुझाएको छ ।

खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोकेका छन् ।

वडाध्यक्ष पर्शराम अर्यालका अनुसार ढकाल खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको छ ।

नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए । फोहोर फाल्नेहरुलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरु पनि बञ्चरेडाँडा जान सकेनन् ।

जनप्रतिनिधिको पहलमा प्रहरीले फोहोर फाल्ने ट्रक पत्ता लगायो । प्र। ३ —००३—१२४६ नम्बरको गाडीले फोहोर फालेको पत्ता लागेपछि चालकमाथि कारबाही सुरु भएको छ । नदी किनारमा फालिएको फोहोर पनि हटाउने काम भइरहेको छ ।

तारकेश्वरको अवरोध हट्दा नहट्दै नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा निजी गाडीको ठक्करबाट बाख्रा मर्‍यो । स्थानीयले सडक अवरुद्ध गरे ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायव उपरीक्षक डीएसपी पूर्णचन्द्र भट्टका अनुसार सम्बन्धित गाडीले क्षतिपूर्ति दिएपछि अवरोध हटेको छ ।

एकै दिन दुई ठाउँमा भएको अवरोध सहमति जुटाएर हटाउँदा पनि फोहोर रोकेपछि काठमाडौं महानगरका अधिकारीहरुले भने यसलाई फोहोरमाथि भएको राजनीति भनेका छन् ।

तर काठमाडौंबाट फोहोर बेकेर गएको टिपरहरु बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्न सकेको छैन ।
त्यसको कारण हो, फोहोर फाल्न नदिने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको घोषणा ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानिय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस