Latest News

गठबन्धनबाट टिकट नपाए प्रेम आले एमाले फर्किने

Nepalese Times August 14, 2022 (1 Year ago)    213 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेम आलेले सत्ता गठबन्धनबाट टिकट नपाए एमालेमै फर्किने मनस्थिति बनाएका छन् ।

आसन्न संघीय निर्वाचनमा गठबन्धनबाटै उम्मेदवार बन्ने तर टिकट नपाए एमालेमै फर्किने गरी आलेले तयारी गरेको उनीनिकट एक नेताले बताए ।

अघिल्लो संघीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित आले पार्टी विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लागेका थिए । पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति अनुसार यतिबेला सिट बाँडफाँटका लागि कार्यदलले काम गरिरहेको छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित सांसदलाई सिट यथावत् राखेर बाँकीमा भागबण्डा गर्ने गरी दलहरुबीच अनौपचारिक समझदारी भएको छ। तर डोटीबाट निर्वाचित आलेलाई गठबन्धनको उम्मेदवार बनाउन कांग्रेसले अस्वीकार गरिसकेको छ ।

जनाधार नै नभएको एकीकृत समाजवादीलाई संघीय निर्वाचनमा उम्मेदवार बनाउन नसकिने कांग्रेसको अडान छ । कांग्रेसबाट संघीय निर्वाचनका लागि कांग्रेस प्रदेश कमिटी सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको दावी छ ।

स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार कांग्रेस एक्लैको ३४ हजार मत रहेकोमा एकीकृतसमाजवादीको जम्मा ३ हजार मत रहेको छ । कांग्रेसले डोटीमा संघीय निर्वाचनमा अरु पार्टीलाई समर्थन गर्न नसकिने प्रष्ट पारिसकेको छ ।

कांग्रेसले डोटी आफैसँग राखेर एकीकृत समाजवादीलाई सुदूरपश्चिमको बझाङ छोड्न सकिने जनाएको छ । डोटीबाट टिकट नपाए आले भने पार्टी नै छोड्ने मनस्थितिमा छन् ।

‘आलेजी अहिले पनि बालकोटको सम्पर्कमै हुनुहुन्छ, सकेसम्म गठबन्धनबाटै टिकट लिन उहाँले प्रयास गर्नुहुन्छ, त्यो सम्भव नभए एमाले त छँदैछ,’ उनीनिकट डोटीका एक नेताले भने ।

डोटीबाट एमाले नेता चक्र मल्लको नाम चर्चामा छ । देशका अधिकांश पालिकामा गठबन्धन हुँदा डोटीमा कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो । नौ स्थानीय तह रहेको डोटीमा कांग्रेसले ७ स्थानीय तहमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस