Latest News

चितवनबाट आयो प्रचण्डलाई अप्ठ्यारो पार्ने खबर, कांग्रेसका असन्तुष्ट पक्षले गर्यो ‘बोल्ड’ निर्णय

Nepalese Times August 14, 2022 (1 Year ago)    349 Views

काठमाडौं ।

मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा चुनावको चटारो सुरु भइसकेको छ ।

स्वतन्त्रदेखि राजनीतिक दलका नेताहरुले उम्मेदवारी घोषणा गरेर चुनावी अभियान सुरु गरिसकेका छन् ।

यो पटकका चुनावमा केही स्वतन्त्र उम्मेदवारहरुले शीर्ष नेताहरुलाई नै टक्कर दिने देखिएकोले निर्वाचन निक्कै रोचक हुने आँकलन गरिएको छ । डडेलधुरादेखि चितवन र काठमाडौंका विभिन्न हेबी वेट उम्मेदवार भएका निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबक सिकाउन भन्दै यो पटक पनि स्थानीय तहको चुनावमा जस्तै गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलहरुको सहमति भइसकेको छ ।
कुन निर्वाचन क्षेत्रमा कसले टिकट पाउने भन्नेबारे सत्तारुढ दलहरुले समिति नै बनाएर छलफल गरिरहेका छन् ।

देशैभर सत्ता गठबन्धन कायम राखेर जाने सहमति भएसँगै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका असन्तुष्ट पक्ष भने पटक–पटक माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने भन्दै विद्रोहको तयारीमा रहेका छन् ।

स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललगायत नेताहरु आउँदो मंसिर ४ को प्रतिनिधिसभा चुनावमा पनि विद्रह गरेर उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

चितवन क्षेत्र नम्बर ३ मा यो पटक पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दिने पक्कापक्की जस्तै छ । उनले अरु धेरै ठाउँबाट उम्मेदवार बन्न प्रस्ताव आएपनि आफूले भने चितवन ३ बाटै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

तर, कांग्रेस चितवनको असन्तुष्ट पक्षले भने गठबन्धन भएर प्रचण्डलाई सहयोग गर्नुपर्ने अवस्था आएमा आफूहरुले उनीविरुद्ध अर्को उम्मेदवार खडा गरेर विद्रोह गर्ने तयारी गरेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएसँगै ग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो ।

शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने बताएका हुन् । सो समूहले आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।

कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफैं उम्मेदवार बन्ने घोषणासमेत गरेका छन् कांग्रेसका मतदाताले चुनाव चिन्ह रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा आफू कांग्रेसका तर्फबाट चुनाव लड्न तयार रहेको नेता सापकोटाले बताएका छन् ।

यस्तै, चितवन कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले पनि आफूहरु पछि नहट्ने बताएका छन् । गत स्थानीय चुनावमा कांग्रेसको असन्तुष्ट समूहले भरतपुरको मेयरमा दाहालकी छोरी रेनु विरुद्ध जगन्नाथ पौडेललाई उम्मेदवार बनाएको थियो । पौडेलले १५ हजार मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस