Latest News

प्रचण्डको गृह जिल्लाबाट चुनाव लड्ने कृषि विज्ञ पौडेलको घोषणा, कसले मार्ला बाजी ?

Nepalese Times August 13, 2022 (1 Year ago)    362 Views

काठमाडौं ।

कृषि विज्ञ कृष्णप्रसाद पौडेलले आउँदो प्रतिनिधिसभा चुनावमा चितवन २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

खाना र खेतीपातीलाई विषादीरहित बनाउने अभियानमा लागेका कृषि विज्ञ पौडेलले प्रचण्डको गृहजिल्लाबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनी एमालेमा राजनीति गरेका व्यक्ति हुन् । तर पछिल्लो समय राजनैतिक गतिविधिमा भन्दा बढी विषादीरहित कृषि अभियानमा सक्रिय छन् ।

भरतपुरमा शनिबार आयोजना भएको पत्रकार सम्मेलनमा पौडेलले आफू आबद्ध पार्टीमा दाबी पेस गरिसकेको जानकारी दिए ।

यो मुद्दा अब राजनैतिक प्रणालीभित्र आउनु पर्ने भन्दै उनले विषादीको बढ्दो अनियन्त्रित प्रयोगले माटो र मान्छेको स्वास्थ्य घातकरूपमा बिग्रेको बताए ।

‘यसलाई सुधार नै पर्ने भएको छ । यसका लागि राजनैतिकरूपमा हस्तक्षेप चाहिएको छ, पत्रकार सम्मेलनमा पौडेलले भने । सांसद बनेर नीति निर्माण तहमा यसबारे आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए ।

पार्टीले अन्याय गरेको अवस्थामा विद्रोह गर्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताए । तर त्यस बारेमा अहिल्यै आफूले केही नसोचेको पनि उनको भनाइ ।

पार्टीमा लामो समयदेखि आबद्ध रहँदै आएको व्यक्तिले उठाएको जायज र नौलो मुद्दालाई नेतृत्वले नजरअन्दाज गर्दैन भन्ने विश्वास आफूलाई लागेको पौडेलले बताए ।

भरतपुरको क्षेत्रपुर घर भएका ६० वर्षका पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक र बेलायतको रिडिङ विश्विवद्यालयबाट विद्यावारिधी गरेका हुन् ।

उनी विद्यार्थी जीवन २०३६ सालदेखि नै एमाले तथा तत्कालीन माले निकट भएर राजनीतिमा लागेका व्यक्ति हुन् ।

यसअघि चितवन निर्वाचन क्षेत्र नं. २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पोखरेलले कांग्रेसका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरेका थिए ।

पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।  पोखरेलले यसअघि ०७० सालमा चितवन निर्वाचन क्षेत्र नः ३ बाट जितेका थिए । अधिकारी भने चितवन २ बाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस