Latest News

जन्मभूमिबाट चुनाव लड्दै छु, जुम्लालाई स्वर्गको टुक्रा बनाएरै छाड्छुः ज्ञानेन्द्र शाही (विशेष अन्तर्वार्ता)

Nepalese Times August 13, 2022 (1 Year ago)    289 Views

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने मिति घोषणा भएसँगै यतिखेर उम्मेदवारी घोषणाको चटारो सुरु भइसकेको छ । स्वतन्त्रदेखि राजनीतिक दलका नेताहरुलेसमेत उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि संसदीय चुनावमा आफू जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणामात्रै गरेका छैनन्, ३१ हजार ८६८ मत ल्याएर चुनाव जित्छु भनेर सार्वजनिक नै गरेका छन् ।

लामो समय सामाजिक अभियान्ताको रुपमा काम गरेर उनले राप्रपा प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरे । अब सदन र सरकारमा सहभागी भएर काम गर्ने मन रहेको उनको रहर छ ।

जुम्लाई विश्वकै नमुना बनाउनका लागि आफूले चुनाव जित्नुपर्ने र सरकारमा सहभागी हुने अवसरमा अर्थमन्मत्रालय हाँक्ने उनको भावी योजना रहेको छ । उनै सामाजिक अभियान्ता हुँदै राजनीतिक यात्रामा होमिएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग नेप्लिज टाइम्सले कुराकानी गरेको छ ।

जुम्लाबाट उम्मेदवारी किन ?
आज म संसारको जुनसुकै कुनामा भएपनि जन्मभूमि र जन्म दिने आमाको कारण रहेको हुँ । जुम्लालाई नेपालमा मात्रै होइन, विश्वभर नै चिनाउनु छ । चाहने हो भने मैले काठमाडौं या अरु कुनै ठाउँबाट पनि उम्मेदवारी दिन सक्थेँ होला । तर, म मेरो जन्मभूमी र जन्मदिने आमाको कारण जुम्लाबाट उम्मेदवारी दिने निर्णयमा पुगेँ ।

जुम्लेली नागरिकले तपाईलाई किन भोट दिने ?
जुम्लाका जनताहरु प्राकृतिक र सांस्कृतिक रुपमे धनी हुँदाहुँदै पनि धेरै पछाडि परिरहेका छन् । उनीहरुको प्रतिनिधित्व गरेर गएका सांसदहरुले आज पनि भनेजस्तो तरिकाले आवाज उठाउन सकिरहेका छैनन् । अब जुम्लालाई स्वर्गको टुक्राजस्तो बनाउन जुम्लेली नागरिकले मलाई भोट दिनुपर्छ ।

प्रतिनिधिसभा निर्वाचन जित्नुभयो भने जुम्लालाई यस्तो बनाउँछु भन्ने योजना तपाईसँग के छ ?
विश्वका बहुमुल्य जडिबुटी जुम्लामा पाइन्छन्छ । जडीबुटीको खानीमा जन्मिएपनि सुनलाई नुनको भाउमा समेत बेच्न नसक्दा आज हामी गरिव भएका छौँ । मलाई गरिवी हटाउनु छ । दुर्गम जुम्ला भनेर चिनाउनु छैन । अवको पाँच बर्षभित्र सुगम जुम्ला भनेर चिनाउनु छ । मेरा जुम्लाका दाजुभाई गलैचा बेच्नको लागि काठमाडौँका घरका ढोकामा ढकढक हान्ने हैन कि, हाम्रो उत्पादन माग्न आउने बनाउनु छ । धेरै ठूला र महत्वकांक्षा एजेन्डा मसँग छैनन् अहिले चुनावमा एजेन्डा देखाउने भोली चुनाव सकिएपछि सुत्ने, बिर्सने र जनतालाई ललिपप खुवाउने काम म गर्दिनँ ।

चुनाव जितेर संसद भवनभित्र छिरेपछि तपाईको भूमिका कस्तो रहन्छ ?
जुम्लाबाट जितेर संसद भवन छिरेका जनप्रतिनिधिहरुले अहिलेसम्म निर्धक्कसँग बोल्न पाएका छैनन् । आफ्ना कुरा राख्न पाएका छैनन् । जुम्लेली जनताहरुको अपमान भइरहेको छ । यदि मैले जितेँ भने जुम्लेली नागरिकको सम्मान हुनेगरी काम गरेर देखाउँछु ।

३१ हजार ८६८ मत ल्याएर चुनाव जित्छु भनेर हिड्नुभएको छ । के आधार छ त्यस्तो ?
हाम्रा टिमका साथिहरुको सर्वेक्षणका आधारमा मैले यसो भनेको हुँ । जुम्लाबाट ३१ हजार ८६८ मत ल्याएर चुनाव जित्छु । त्यो हाम्रो टिमले जुम्लामा गरेको सर्वेक्षण अनुसार मैले भनेको हो । योभन्दा धेरै मत पनि हुन सक्छ । तर, हालसम्मको सर्वेक्षणले मैले जित्ने देखाउँछ ।’
काठमाडौंका मेयर बालेन साहले पनि चुनावी मैदानमा होमिदा यसैगरी भोट संख्या गनेर हिँडेका थिए । तपाईले पनि उहाँकै सिको टिप्नुभएको हो ?
मैले बालेनको सिको गरेको होइन कि बालेनले चाहीँ हाम्रो किसो गरेका हुन् । हामीहरुले नै उनलाई यसरी अघि बढ्नुपर्छ भनेर सिकाएका थियौँ ।

निर्वाचित भएर पार्टी नै सरकारमा सहभागी हुने अवस्था आयो भने मन्त्रिपरिषद्मा तपाईको दाबी के रहन्छ ?
मेरो पढाई अनुसार मैले काम गर्ने हो । अर्थ मन्त्रालय सम्हालेर भनेजस्तो काम गरेर देखाउनु छ । यदि मैले जितेँ र सरकारमा सहभागी हुने अवसर जुट्यो भने म अर्थमन्त्री बन्न चाहन्छु ।

यसअघि पनि नेपालका सबै नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हिड्नुभएको थियो । पछि राप्रपा प्रवेश गरेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । यो पटक सबै नेतृत्व परिवर्तन सर्न सक्ने तागत तपाईहरुसँग छ ?
हामीले यो पटक सबै पुराना परीक्षण भइसकेका नेताहरुलाई रोक्नु छ । उनीहरुले लामो समयसम्म नेतृत्व गर्दासमेत भनेजस्तो काम गर्न सकेनन् । अब संसदमा हामीजस्ता फ्रेस मानिसहरु आउनुपर्छ । हामीसँग त्यसलाई रोक्न सक्ने तागत छ । यो पटक राप्रपाले जसरी पनि पुराना नेतृत्वलाई फाल्ने हिम्मत गर्छ ।

तपाईहरुले त अवस्था परिवर्तनको मात्रै होइन व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनिरहनुभएको छ हैन ?
हो, हामीले प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री भनेका छौँ । राजसंस्थाको पक्षमा बोल्दै आएका छौँ । अब नेपाली जनतालाई लागिसक्यो कि राजसंस्था नै ठिक थियो भन्ने । यो मुद्धामा धेरै नेतादेखि अधिकांस नागरिकहरुसमेत सकारात्मक भइसकेका छन् । ढिलो चाँडो हामीले उठाएका मुद्धामा सबै जनाले सही रहेछ भन्नेछन् ।

अहिलेसम्म क–कसले राजसंस्था चाहिन्छ भने ?
नेकपा एमालेका नेता महेश बस्नेतदेखि माओवादीका पूराना केही नेताहरुसमेतले यसो भन्न थालिसके । राष्ट्रपति पद हटाएर राजसंस्था ल्याउनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ । अनि मात्रै देशले मुहार फेरिनेछ । आम नागरिकको अनुहारमा मुस्कान छाउनेछ ।

यो पटकको चुनावमा नेकपा एमालेसहितका दलसँग तालमेल गर्ने कुरा पनि चलिरहेको छ नि ?
यसबारे पार्टीले आधिकारिक धारणा लिन बाँकी छ ।

अन्त्यमाः अहिलेको चुनाव कुनै पनि हालतमा जित्छु भन्ने आत्मविश्वास कत्तिको छ ?
मैले यो पटक कुनै पनि हालतमा जित्छु । हाम्रा साथिहरुले सर्वेक्षण नै गरिसक्नुभएको छ कि मैले कति भोट पाउँछु भन्ने । राजनीतिक भोट त छँदैछ, मैले धेरैजसतो व्यक्तिगत भोट पाउँछु । मलाई मानिसहरुले व्यक्तिगत भोट हाल्नेछन् । यसमा ढुक्क हुनुस्, मैले जितेरै छाड्छु ।

प्रतिक्रिया दिनुहोस