Latest News

कसले खोस्यो बालेनको ‘लौरो’ ?

Nepalese Times August 12, 2022 (1 Year ago)    631 Views

काठमाडौं –

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय चुनावमा प्रयोग गरेको लौरो खोसिएको छ । बालेनको चुनाव चिह्न हाम्रो नेपाली पार्टीले खोसेको हो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यो दलले २७ असार २०७९ मा लौरो चुनाव चिन्ह लिएको हो । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले स्थानीय चुनावपछि लौरो चुनाव चिन्ह सुरक्षित गर्नुपर्छ भनेर दल दर्ता गरिएको बताए ।

हाम्रो नेपाली पार्टीसहित केही दल र स्वतन्त्र अभियन्ताहरुले आगामी चुनावमा साझा उम्मेदवारी दिने र लौरो चिह्न लिने घोषणा शुक्रबार गरेका छन् ।

उनीहरुमध्ये एक डा. सुदीप श्रेष्ठले लौरो स्वतन्त्र अभियानको सिम्बोल भएको बताए । यही चुनाव चिह्न लिने गरी वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र अभियन्ताहरूको मोर्चा बनाउने सैद्धान्तिक सहमति भएको उनको भनाई छ ।

उनका अनुसार अहिले मोर्चाको नाम ‘स्वतन्त्र तथा वैकल्पिक शक्ति’ प्रस्ताव गरिएको छ । यसमा जोडिन चाहने दल तथा अभियन्ताहरुसँग छलफल भइरहेको छ र आइतबारसम्म निर्वाचन आयोगमा मोर्चा दर्ता गर्ने तयारी छ ।

४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । दुई वा दुईभन्दा बढी दलले मोर्चा बनाएर चुनाव लड्ने भए त्यस्तो मोर्चा दर्ता गर्नुपर्छ भने कुन दलको चुनाव चिन्ह लिने पनि खुलाउनुपर्छ ।

उसो त बालेनको घुमाउरो डाँठभन्दा हाम्रो नेपाली पार्टीको लौरो थोरै भिन्न किसिमको छ । तर निर्वाचन आयोगले नयाँ लौरो आइसकेको अवस्थामा बालेन टाइपको लौरोलाई मान्यता नदिने प्रष्टै छ । यस अर्थमा बालेनको हातबाट यसपालिलाई लौरो फुत्कियो ।

प्रतिक्रिया दिनुहोस