Latest News

आज सार्वजनिक बिदा दिने निर्णय

Nepalese Times July 17, 2022 (1 Year ago)    357 Views

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एकसूचना जारी गर्दै बिदा दिने जनाएको हो ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए । प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन् ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा साउनको तयारी

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।

पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ । आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस