Latest News

नारायणकाजीले यस्तो संकेत गर्ने वित्तिकै ओलीले दिए एमाले प्रवेशको निम्तो, तनावमा प्रचण्ड

Nepalese Times July 16, 2022 (1 Year ago)    404 Views

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार नमिल्ने पार्टीमा नबस्दा उपयुक्त हुने आशय व्यक्त गरेका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई इंगित गर्दै ओलीले विचार नमिल्ने पार्टीमा नबस्दा उपयुक्त हुने बताएका हुन् ।

शनिबार नेपाल–चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले ओलीलाई संघ र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव गरेका थिए।

जवाफमा ओलीले सोही कार्यक्रममा विचार नमिल्ने पार्टीमा किन बस्नुहुन्छ भन्दै प्रश्न गरेका हुन्। नेता श्रेष्ठले नेता श्रेष्ठले वामपन्थी एकताका लागि सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्नेमा पनि जोड दिएका छन्।

‘तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल गरेर अघि बढ्न सकिन्छ,’ श्रेष्ठले भनेका छन्। श्रेष्ठले कम्युनिष्टहरू फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिएका हुन्।

उक्त कार्यक्रममा सहभागी हुने क्रममा एउटै मञ्चमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नै लिएर उनले एकताका लागि आत्मालोचना गर्न आग्रह गरेका छन्।

वाम एकताको प्रसंग झिक्दै श्रेष्ठले भने, ‘आदरणीय नेता केपी ओली यहीँ हुनुहुन्छ, म विनम्रतापूर्वक निवेदन गर्छु, अब हामीले ‘तुम सेर तो हम सवा सेर’ छाडिदिऊँ।’ उनले यसअघिका घटनाक्रमबारे आत्मसमीक्षा गर्नुपर्ने पनि बताएका छन्।

‘घटनाक्रमको विषयवस्तुमा आत्मसमीक्षा गरौँ, कतिपय भोलि पछाडि गरे हुने पछि नै समीक्षा गरौँला,’ श्रेष्ठले भने, ‘अहिल्यै गर्नुपर्ने भएको छ भने आत्मालोचना गरौँ। पार्टी एकता जोगाउन सकिएन, त्यसमा म पनि आत्मआलोचित छु।’

नेपालमा देशभक्तिपूर्ण आन्दोलनमा अगुवा शक्ति वामपन्थी शक्तिहरु नै अग्रपंक्तिमा भएको उनले दाबी गरेका छन्। ‘अहिले पनि वामपन्थी शक्तिहरु दुईतिहाइको अवस्थामा छन्, यो देशमा,’ श्रेष्ठले भने, ‘अहिलेको विवादित र चिराचिराको अवस्थालाई छाडिदिएर एकतावद्ध गरिदिने हो भने।’

वामपन्थी आन्दोलन सकियो भने नेपालको राष्ट्रियता कमजोर हुने उनले बताए। ‘देशको अस्तित्व संकटमा नपारौँ। त्यसका लागि वामपन्थीहरूको एकता आवश्यक्ता छ,’ श्रेष्ठले जोड दिँदै भने, ‘कमसेकम तालमेल, मोर्चा र अर्को दिशातिर जानुपर्ने आवश्यक्ता छ।’

प्रतिक्रिया दिनुहोस