Latest News

नारायणकाजीले ओलीसँग राखे यस्तो प्रस्ताव, गठबन्धनमा खैलाबैला

Nepalese Times July 16, 2022 (1 Year ago)    459 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तत्कालै वामपन्थीहरुबीच एकता गर्न नसकिए चुनावी तालमेल गरेर अघि बढ्न सकिने बताएका छन्।

नेता श्रेष्ठले वामपन्थी एकताका लागि सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्नेमा पनि जोड दिएका छन्। ‘तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल गरेर अघि बढ्न सकिन्छ,’ श्रेष्ठले भनेका छन्।

राजधानीमा शनिबार आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’छलफलमा भाग लिँदै श्रेष्ठले कम्युनिष्टहरू फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिएका हुन्। उक्त कार्यक्रममा सहभागी हुने क्रममा एउटै मञ्चमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नै लिएर उनले एकताका लागि आत्मालोचना गर्न आग्रह गरेका छन्।

वाम एकताको प्रसंग झिक्दै श्रेष्ठले भने, ‘आदरणीय नेता केपी ओली यहीँ हुनुहुन्छ, म विनम्रतापूर्वक निवेदन गर्छु, अब हामीले ‘तुम सेर तो हम सवा सेर’ छाडिदिऊँ।’ उनले यसअघिका घटनाक्रमबारे आत्मसमीक्षा गर्नुपर्ने पनि बताएका छन्।

‘घटनाक्रमको विषयवस्तुमा आत्मसमीक्षा गरौँ, कतिपय भोलि पछाडि गरे हुने पछि नै समीक्षा गरौँला,’ श्रेष्ठले भने, ‘अहिल्यै गर्नुपर्ने भएको छ भने आत्मालोचना गरौँ। पार्टी एकता जोगाउन सकिएन, त्यसमा म पनि आत्मआलोचित छु।’

नेपालमा देशभक्तिपूर्ण आन्दोलनमा अगुवा शक्ति वामपन्थी शक्तिहरु नै अग्रपंक्तिमा भएको उनले दाबी गरेका छन्। ‘अहिले पनि वामपन्थी शक्तिहरु दुईतिहाइको अवस्थामा छन्, यो देशमा,’ श्रेष्ठले भने, ‘अहिलेको विवादित र चिराचिराको अवस्थालाई छाडिदिएर एकतावद्ध गरिदिने हो भने।’

नेपालका कम्युनिस्टहरु एक अर्कालाई सिद्याउने र तल पार्ने मेसोमा लागेको गुनासो श्रेष्ठले गरे। ‘देशमा अहिले हाम्रो वामपन्थीहरूको अवस्था कस्तो छ भने, एक अर्कालाई सिद्याउने, तल मार्ने मेसो चलाउँदा आफू सबै सिद्धिने दिशातिर गइरहेका त छैनौं?’ श्रेष्ठले भने, ‘कसले एक अर्कालाई सिद्याउने हो भन्नेतिर हेर्यो अनि वामपन्थी आन्दोलनलाई सिद्याउने? त्यो दिशातिर जाने? त्योबाट बच्ने?’

वामपन्थी आन्दोलन सकियो भने नेपालको राष्ट्रियता कमजोर हुने उनले बताए। ‘देशको अस्तित्व संकटमा नपारौँ। त्यसका लागि वामपन्थीहरूको एकता आवश्यक्ता छ,’ श्रेष्ठले जोड दिँदै भने, ‘कमसेकम तालमेल, मोर्चा र अर्को दिशातिर जानुपर्ने आवश्यक्ता छ।’

तालमेल गरेर हिँड्न नसक्दा देशको अस्तित्व समेत संकटमा पर्ने उनको भनाइ छ। ‘प्रतिनिधिसभा विघटन, एमसिसी अनुमोदन र १९ बुँदे आरोप पत्रमा के भएको थियो? तत्काल पार्टी एकता गर्न नसकिएला तर तालमेल गरेर अघि बढ्न सकिन्छ,’ उनले भने, ‘भएन भने त उही हो, एकअर्का लडौँ, वामपन्थी सिद्याऔँ, देशलाई पनि अस्तित्व संकटमा पुर्‍याऊँ।’

प्रतिक्रिया दिनुहोस