Latest News

कांग्रेसको प्रस्तावित मर्यादाक्रमप्रति तरुण दलको विरोध, देउवामाथि लाग्यो गम्भीर आरोप

Nepalese Times July 15, 2022 (1 Year ago)    279 Views

काठमाडौं ।

नेपाल तरुण दलले नेपाली कांग्रेस पार्टीद्वारा प्रस्तावित मर्यादाक्रम स्वीकार्य नभएको भन्दै विरोध जनाएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै तरुण दलले प्रस्तावित मर्यादाक्रमले आफूहरुको योगदानको अवमूल्यन गरी घटुवा गरेको भन्दै आपत्ति जनाएको छ ।

संघका अध्यक्ष विद्वान गुरुङले भ्रातृ संस्थाका अध्यक्षहरुको मर्यादाक्रम घटाउने प्रस्ताव फिर्ता लिन र सच्याउनसमेत माग गरेका छन् ।

विभिन्न राजनीतिक संघर्ष र आन्दोलनमा आफ्नो महत्वपूर्ण भूमिका सफलतापूर्वक निर्वाह गरेका तरुण दललगायतका भ्रातृ संस्थाहरुको गौरवपूर्ण इतिहासको उचित मूल्यांकन गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष गुरुङले ज्ञापनपत्रमा औंल्याएक छन् ।

यस्तो छ विज्ञप्ति

नेपालको लामो लोकतान्त्रिक आन्दोलनको ईतिहासमा नेपालका तरुणहरुले नेपाली काँग्रेसको नेतृत्वमा गरेको बलिदानीपूर्ण संघर्ष र योगदानको उच्च मुल्यांकन गरिनै रहनुपर्दछ । समय बित्दै जाँदा ईतिहास बिर्सिदै त्यसको मूल्य र महत्वमा ठेस प्याउने गरी वर्तमान र भविष्यको कल्पना गर्नु हानिकारक हुन्छ ।

नेपाल तरुणदल २००७ सालको जनक्रान्ति पछि २०१० सालमा महामानव वी.पी. कोइराला स्वयम्ले यसको आवश्यकतालाई महसुस गरी स्थापना गर्नु भई यसको परिचालनमा प्रत्यक्ष निर्देशन र दिशावोध गर्नुभएको सत्यलाई आत्मसाथ गर्दै स्थापनाको त्यो कालखण्ड देखि आजसम्म आईपुग्दा सिद्धान्त र आदर्श प्रति अविचलित गौरवशाली संस्था भएकोले नेपाल तरुण दल आफ्नो गरिमा, महत्व र आदर्शमा हुने अवमूल्यनलाई सिधै अस्वीकार गर्दछ ।

हाम्रो गम्भीर ध्यान नेपाली काँग्रेसको २०७९ साल असार २७ गते देखि चालु नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली काँग्रेस मर्यादाक्रम निर्धारण मस्यौदा समितिवाट प्रस्तावीत नेपाली काँग्रेस पार्टीका विभिन्न तह र निकायका पदाधिकारी एवं सदस्यहरुको मर्यादाक्रम सम्बन्धि प्रस्तावमा गएको छ ।

त्यस प्रस्तावले नेपाली काँग्रेसका भातृ संस्थाका अध्यक्षहरुको हिजोको दिनसम्म कायम रहेको मर्यादाक्रम घटाएर मनोबल गिराउने काम भएको पाईयो । त्यस प्रस्ताव नेपाल तरुण दललाई कदापी स्वीकार्य छैन ।

ईतिहासको विभिन्न कालखण्डका विभिन्न राजनैतिक संघर्ष र आन्दोलनमा आफ्नो महत्वपूर्ण भुमिका सफलतापूर्वक निर्वाह गरेका नेपाल तरुण दल लगायतका भातृ संस्थाहरुको गौरवपूर्ण ईतिहासको उचित मुल्यांकन गरिनु आजको आवश्यकता हो। आदरणीय सभापति ज्यू एवं सम्मानीत केन्द्रीय समिति, समय बलवान छ ।

समयलाई अवमुल्यन हुने मनसाय र सोचबाट गरिने कुनै पनि निर्णय नेपाली तरुणहरुलाई स्वीकार्य नहुने भएकोले नेपाल तरुण दल लगायत भातृ संस्थाका अध्यक्षहरुको हिजोको दिनसम्म कायम रहेको मर्यादाक्रम घटाउने प्रस्ताव फिर्ता लिन र सच्याउन नेपाल तरुण दल जोड्दार माग गर्दछ ।

साथै यस विषयलाई गहन रुपमा लिई भातृ संस्थाहरुको मनोबल उच्च बनाउन प्रभावकारी भुमिका खेलिदिनुहुन आदरणीय पार्टी सभापति एवं सम्मानीत केन्द्रीय समितिलाई नेपाल तरुण दल केन्द्रीय समिति यसै ज्ञापन-पत्र मार्फत हार्दिक आग्रह गर्दछ । जय नेपाल।

प्रतिक्रिया दिनुहोस