Latest News

मेयर हर्क साम्पाङ र रवि लामिछानेबीच भेट, के- के भयो कुराकानी ?

Nepalese Times July 15, 2022 (1 Year ago)    396 Views

काठमाडौं- धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्। शुक्रबार मेयर साम्पाङसँग उनकै कार्यकक्षमा पुगेर लामिछानेले भेटवार्ता गरेका हुन्।

भेटमा लामिछानेले धरानमा जितको शुभकामना भेटेरै दिन आफू आएको बताएका थिए। आफूलाई श्रमदानमा सहभागी हुन मन भएको भए सकिएको उनले त्यसक्रममा बताएका थिए।

‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’ भेटमा लामिछाने भनेका थिए। साम्पाङ हरेक शुक्रबार दौरा सुरुवाल र टोपी लगाएर कार्यालय जाने गरेका छन्। उनीसँगको भेटमा लामिछाने भादगाउँले टोपी, आस्कोटसहितको पहिरनमा देखिएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेपालमा बनेका पोशाक मात्रै आफूले लगाउने घोषणा गरेका छन्।

झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो घोषणा गरेका हुन्। ‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ,’ उनले भने, ‘म अब नेपालमा बनेको नेपाली उत्पादनका लुगा मात्रै लगाउँछु।’

झापामा आयोजित कार्यक्रममा उनी कुर्ता, सुरुवाल र इस्टकोट लगाएर उभिएका थिए।आफूले लगाएको पहिरन सबै नेपालको मात्रै भएको बताउँदै उनले भने, ‘मैले अहिले लगाएको पहिरन पनि नेपालको मात्र हो।’

कपडा मात्र नभई अन्य सामाग्रीहरु पनि नेपालमा नै बनेको प्रयोग गर्ने उनले बताएका छन्। आफ्नो पार्टी नेपालमा बनेका सामग्रीहरुको प्रवर्द्धनमा लाग्ने पनि उनले बताए। ‘नेपालमा बनेका सामाग्री प्रयोग गर्नेछु। ती सामाग्रीको प्रवर्द्धनमा हाम्रो पार्टी लाग्नेछ,’ उनले भने।

गत ७ असारमा राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गर्दै लामिछानेले पार्टी घोषणा गरेका थिए। त्यसयता, उनी देशका विभिन्न जिल्लाका भेलामा सहभागी हुन दौडधूप गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस